• Sunday 4th of October 2026

क्रिकेट विश्वकप आजदेखि, पहिलो खेलमा आज इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप आजबाट सुरु हुँदैछ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा पहिलो खेल साविकको विश्वकप च्याम्पियन इङ्ल्यान्ड र उपविजेता न्युजिल्याण्डबीच हुनेछ । खेल आज दिउँसो स्थानीय समयअनुसार २ बजे (नेपाली समयअनुसार सवा २ बजे) सुरु हुनेछ ।

विश्वकप अक्टोबर ५ देखि १९ नोभेम्बरसम्म हुनेछ । क्रिकेटको इतिहासमा पहिलो पटक पूरै क्रिकेट विश्वकप भारतमा हुँदैछ। यसअघि भारतले सन् १९८७, १९९६ र २०११ मा एकदिवसीय क्रिकेट विश्वकप संयुक्त रूपमा आयोजना गरेको थियो।

भारतीय टोलीले आफ्नो पहिलो खेल अक्टोबर ८ मा अष्ट्रेलियासँग चेन्नईमा खेल्नेछ । फाइनल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।

विश्वकपमा राउण्ड रोबिन लिगमा १० टोली आमनेसामने छन्, जसमा कुल ४५ खेल हुनेछन्। प्रत्येक टोलीले राउन्ड रोबिन ढाँचामा अन्य नौ टोलीहरूसँग खेल्नेछ, जसमा शीर्ष चार टोलीहरू नकआउट चरण (सेमिफाइनल) का लागि छनोट हुनेछन्।

यसपछि पहिलो सेमिफाइनल १५ नोभेम्बरमा मुम्बईको वानखेडे स्टेडियममा र दोस्रो सेमिफाइनल नोभेम्बर १६ मा कोलकाताको इडेन गार्डेनमा हुनेछ ।

यसअघि मुम्बईको वानखेडे स्टेडियमले २०११ को विश्वकपको फाइनल आयोजना गरेको थियो। त्यतिबेला महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको भारतले श्रीलंकालाई हराएर २८ वर्षपछि एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । इडेन गार्डेनले सन् १९८७ मा अस्ट्रेलिया र इङ्ल्यान्डबीचको पाइनल खेलको आयोजना गरेको थियो, जसमा अस्ट्रेलियाले जित हात पारेको थियो।

विश्वकप २०२३ को पहिलो सेमिफाइनल १५ नोभेम्बर बुधबार मुम्बईमा र दोस्रो सेमिफाइनल भोलिपल्ट कोलकातामा हुनेछ। दुवै सेमिफाइनलमा रिजर्भ डे हुनेछ। फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा नोभेम्बर १९ मा हुनेछ र नोभेम्बर २० लाई रिजर्भ डेको रूपमा राखिएको छ।

तीनवटै नकआउट खेलहरू डे-नाइट खेल हुनेछन्, जुन स्थानीय समय अनुसार दिउँसो २:०० बजे सुरु हुनेछ। यस विश्वकपमा दिनमा खेलिने खेलहरू स्थानीय समय अनुसार बिहान १०.३० बजे सुरु हुनेछन् । प्रतियोगितामा दिनभर (बिहान १०:३० बजेदेखि) ६ वटा खेल हुनेछन् भने बाँकी खेल दिउँसो २ बजेदेखि हुनेछन् ।

सबै खेलहरू जम्मा १० स्थानमा खेलाइनेछन्। यसमा हैदराबाद, अहमदाबाद, दिल्ली, चेन्नई, लखनऊ, पुणे, बेंगलुरु, मुम्बई, धर्मशाला, कोलकाता समावेश छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖