काठमाडौं, असोज २७ । पिल्स (खाने चक्की) महिलाले प्रयोग गर्ने गर्भनिरोधको अस्थायी साधन हो । यो गर्भनिरोध गर्न चाहने महिलाहरुको लागि ज्यादै प्रभावकारी अस्थायी साधन हो ।
पिल्सले कसरी गर्भ रोक्दछ ?
पिल्स चक्की खानाले महिलाको डिम्बाशयबाट डिम्ब निष्कासन हुन दिंदैन । पाठेघरको मुखबाट निस्किने तरल पदार्थलाई बाक्लो र थोरै बनाउँदछ, जसले गर्दा शुक्रकीट लाई पाठेघर भित्र जान बाधा पुर्याउँछ । पाठेघरको भित्रीपत्रलाई पातलो गर्दछ र गर्भ बस्न दिंदैन ।
पिल्स कस्ता महिलाहरुले प्रयोग गर्न सक्छन् ?
बच्चा भएकी, नभएकी, विवाहित, अविवाहित र गर्भपतन भए पश्चात, गर्भान्तर वा गर्भ रहन ढिलाई गर्न चाहने, एचआईभी संक्रमित र एड्स भएको अथवा एन्टी, रेट्रोभाइरल औषधी (एचआईभीको औषधी) सेवन गरिरहेकी ।
पिल्स कस्तो र कतिवटा चक्की हुन्छ ?
पिल्स एक पत्तामा जम्मा २८ चक्की हुन्छन् । २८ चक्कीहरुमध्ये २१ वटा सेतो र ७ वटा खैरो रंगका हुन्छन् । २१ वटा सेतो रङ्गको चक्कीले गर्भ निरोधको काम गर्छ भने खैरो ७ वटा चक्कीले रगत बढाउने काम गर्छ ।
कस्तो महिलाले पिल्स खानु हुदैन ?
गर्भ रहेको शंका लागेमा, क्षयरोग वा छारे रोगको औषधी खाइरहेमा, उच्च रक्तचाप भएमा, ३५ वर्ष नाघेकी र चुरोट, बिडी सेवन गर्ने बानी भएमा ।
पिल्स कहिले खाने ?
महिनावारी भएको ५ दिन भित्र सुरु गर्नुपर्दछ । महिनावारी भएको ५ दिन कटिसके पनि यदि महिला गर्भवती नभएको निश्चित भए महिनावारी चक्रको कुनै पनि समयमा चक्की लिन सकिन्छ । ५ दिन कटिसकेपछि पिल्स खान सुरु गरेकी महिलाले गर्भ रहन नदिन ७ दिन सम्म यौन सम्पर्क नगर्ने वा गर्नु परेमा कण्डमको प्रयोग गर्नुपर्दछ । पिल्स संधै एउटै समयमा खानुपर्छ ।
पिल्स खानाले, एच, आईभी र यौन रोग सर्नबाट बचाउँदैन । त्यसैले एचआईभी र यौन रोगबाट बच्न कण्डमको पनि प्रयोग गर्नुपर्छ ।
पिल्स खाएपछि कसैकसैमा देखिन सक्ने असरहरु
वाकवाकी लाग्ने, टाउको दुख्ने, स्तन दुख्ने, महिनावारी बाहेक अन्य समयमा पनि रगतका थोपाहरु देखा पर्न सक्ने, सामान्यतया दुई तीन महिनापछि पनि माथि भनिएका असरहरू हराएनन् भने नजिकैको महिला स्वास्थ्य स्वयंसेविका अथवा स्वास्थ्य कार्यकर्तासंग सल्लाह लिनुपर्छ ।
पिल्स खान बिर्सेमा के गर्ने ?
लगातार एक वा दुई दिन सम्म पिल्सको सेतो चक्की खान छुटेमा अथवा नियमित पिल्स खाइरहेकी महिलाले नयाँ पत्ता शुरु गर्न एक वा दुई दिन ढिलो भएमाः (सम्झिने बित्तिकै एक चक्की खाईहाल्नुपर्छ । त्यसदिन खानु पर्ने चक्की सधै खाने समयमा नै खाने । यसो गर्दा त्यस दिन दुईवटा चक्की खानुपर्ने हुन्छ । बाँकि चक्की सदाझै खाइरहनु पर्दछ ।)
यौन सम्पर्क गर्नु परेमा कण्डमको प्रयोग गर्नुपर्छ । पिल्स खान छुटेको अवधिमा यौन सम्पर्क भएको भएमा, आकस्मिक गर्भ निरोधको साधनको प्रयोग गर्नुपर्छ ।
(महिला स्वास्थ्यबाट)
