• Monday 5th of October 2026

अमेरिका विवादमा रेखाको जवाफ : ‘म भ्याकेसन मनाउन श्रीमानको घर गएकी हुँ’


  • धनकुटा खबर
  • .

काठमाडौं । केही दिन अघि मात्रै नायिका रेखा थापा अमेरिका उडिन्। गर्भवती अवस्थाका केही फोटोसुट गरेर उनी अमेरिका उडेकी हुन्। रेखा अमेरिका उडेपछि यतिबेला नेपालमा विभिन्न बहसहरु सुरु भएका छन्। ‘बच्चा पाउन नायिका रेखा थापा अमेरिका प्रस्थान !’ भन्ने शिर्षकमा त नेपालका दर्जनौं मिडियामा छ्यापछ्याप्ति समाचारहरु समेत प्रकाशित भए। सन्तान पाउनकै लागि रेखा अमेरिका उडेको धेरैले आरोप पनि लगाएका छन्।

के साँच्चिकै समाचारहरुमा आएजस्तै रेखा अमेरिका उडेकी हुन् त ? यसबारे रेखाले अमेरिका उड्नु अघि जवाफ दिएकी रहेछिन्। जुन जवाफ एक टेलिभिजन कार्यक्रममा सोमबार मात्रै सार्वजनिक भयो। ग्यालेक्सी फोरके टेलिभिजनको प्रस्तुति ‘सिनेभर्स’ कार्यक्रममा रेखाले बाहिर आएका विवाद, समाचार अनि विभिन्न टिकाटिप्पणीको जवाफ दिएकी हुन् ।

जवाफमा रेखाले भ्याकेसन मनाउन श्रीमानको घर गएको बताएकी छिन्। आफ्नो श्रीमानको घर अनि व्यवसाय अमेरिकामै भएकोले श्रीमानकै इच्छा अनुसार अमेरिका पुगेको रेखाको तर्क छ। परिवार सबै अमेरिकामा भएकोले आफ्नो घर नगएर कहाँ जाने त ? भन्ने पनि रेखाको प्रश्न रहेको छ।

भ्याकेसन मनाउन चन्द्रमा नै गएपनि कसैले टाउको दुखाउनुपर्ने कारण नहरेको रेखा बताउँछिन्। “आफ्नो सन्तानले पछि १८ वर्ष पुगेपछि कहाँको नागरिक बन्ने इच्छा गर्छ उसको अधिकारको कुरा हो”, रेखाले जवाफमा भनेकी छिन्, “बरु सन्तानलाई मेरो आमाबाबुको देशमा बस्न चाहान्छु भनेर नेपाल मै बस्ने माहोल सृजना गर्नु रेखा थापाको दायित्व हो। मैले त आफ्नो देश छोडेको छैन। आफ्नै देशमा बस्ने हो, यहीँ केही गर्ने हो।” आफ्नो विवाहपछि भ्याकेसन मनाउने समय नभएकोले श्रीमानसँग घुमघाम गर्न श्रीमानको घर जान लागेको र बाहिर समाचारमा आएजस्तो सन्तान पाउनकै लागि अमेरिका नगएको रेखाको स्पष्टीकरण रहेको छ।

खासमा गर्भवती महिलालाई यस्तो समयमा श्रीमान अनि परिवारको साथ निकै आवश्यक पर्छ। सोही अनुरुप श्रीमान र परिवारको घर अमेरिकामा छ भने अन्यत्र कहाँ जाऊन् त रेखा ? भनेर पनि धेरले तर्क गरेका छन्। मातृत्वका केही समय सुखद रूपमा व्यतीत गर्न उनी आफ्ना श्रीमान् र परिवारको देश अमेरिका पुगिन् त उनको के दोष होइन र ? गर्भवती महिलाले जहाँ खुसी मिल्छ त्यही नै बस्ने पनि हो । यो आउँदै गरेको सन्तानका लागि लाभदायक कुरा मानिन्छ ।

नेपाल छोड्नु अघि उनले गराएको फोटोसुट पनि आकर्षक छ । डिजाइनर देखिने साडीमा सजिएकी उनको पहिरनमा सन्तान अङ्कित छन् । उक्त सन्तानको चित्र पेट हुँदै उनको स्तनसम्म पुगेको छ । आमा र सन्तानको सम्बन्धलाई स्पष्ट देखाइएको छ । जे होस उनको ‘मदरहुड’ लोभलाग्दो छ ।

तर रेखा नायिका मात्र रहिनन् । उनी नेता पनि हुन् । चुनाव समेत लडिसकेकी नेता उनी माथि जनताको धेरै आस थियो । भलै उनले चुनाव हारिन् । उनको चुनाव प्रचारको स्टन्ट लोभलाग्दो थियो । सामान्य पहिरन चप्पल र अति कम श्रिङ्गारमा उनी गाउँगाउँ पुगेकी थिइन्। आम नागरिकलाई आफू पनि उनीहरू जस्तै हुन् भनेर देखाउन यो सब गरेको उनले बताएकी थिइन्।

उनको राष्ट्रियता, राष्ट्रवाद र स्वाभिमानको कुराले धेरैलाई प्रभावित पारेको थियो । हर घरका सन्तान उनकी जिम्मामा छन् झैँ देखिन्थ्यो । बा आमाले पनि भर गरेका थिए उनै माथि । तर जब आफ्नै सन्तान जन्माउने समय आयो तब सन्तानलाई अमेरिकी नागरिक बनाउन अमेरिका उडेको भन्ने जस्ता खबरहरुले रेखाको जीवनशैली पछ्याउने शुभचिन्तकहरुलाई नराम्रो लाग्नु स्वभाविक नै हो।

तर यसबारे रेखाले आफ्नो धारणा राखिसकेकी छिन्। जहाँसम्म लाग्छ रेखाको धारणाले सबैको प्रश्नको जवाफ पूरा गरेको छ। रेखाको पृष्ठभूमि अनुसार आशा गरौं कि बच्चा जहाँ जन्माएपनि बच्चा नेपालमै फर्किएर नेपाली नागरिक बनाउन उनले महत्वपूर्ण माहोल सृजना गर्नेछिन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖