• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेस बैठकमा अनौठो प्रस्ताव : ‘हिन्दू राष्ट्रको सट्टा धर्म राष्ट्र राखौं’


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसको चालु केन्द्रीय समितिको वैठकमा पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालाले धर्म निरपेक्षता हटाएर ‘धर्म राष्ट्र’ राख्नुपर्ने प्रस्ताव राखेका छन् । पार्टीका केन्द्रीय सदस्य कोइरालाले वैठकमा विचार राख्दै धर्म राष्ट्र राख्ने सम्बन्धी अवधारणापत्र नै वितरण गरेका हुन् ।नेपाली समाजको विशिष्ट चरित्र, यहाँको धार्मिक वास्तविकतालाई धर्म राष्ट्रले मात्र बोक्न सक्ने, धर्म निरपेक्षताले बोक्न नसक्ने कोइरालाको धारणा थियो ।

‘धर्म निरपेक्षता कुन सन्दर्भमा ल्याइयो भन्ने आफ्नै ठाउँमा छ । धर्म निरपेक्षता भएपछिका दिनमा हिन्दू राष्टको माग उठ्न थालेको छ ।’, उनले भने, ‘मानिलिउँ, हिन्दू राष्ट बनाइयो रे, त्यसपछि पुन धर्म निरपेक्षताको माग हुनेछ । यसको अर्थ हो धर्मको नाममा देश पुन अर्काे दुष्चक्रमा फस्न सक्छ ।’

भारतको संविधानमा पनि सुरुमा धर्म बारे लेखिएको नलेखिएको र पछि धर्म निरपेक्षता थपिएको भन्दै उनले भने, ‘धर्म निरपेक्षता नेपालमा नलेख्नु लेखिसकियो, अब सच्याउनुपर्छ, हिन्दू राष्ट्र बनाउने मागका सम्बन्धमा विचार गर्दा कस्तो हिन्दू धर्म भन्ने प्रश्न उठ्छ’

बैठकमा उनले नेपालमा हिन्दू भनिने धर्म अरुबाट पृथक रहेको रहेको बताउँदै भने, ‘हिन्दू धर्मको एउटै मानक छैन । नेपालमा हामीले सनातनदेखि मान्दै आएको धर्महरुको सम्मिश्रणबाट विशिष्ट र मौलिक धर्मको विकास भएको छ । बौद्ध, किराँत, बोन, प्रकृतिपूजक, सनातन लगायतका पूर्वीय धर्म अर्थात् नेपाली माटोका धर्महरुको सम्मिश्रणबाट नेपालको धर्म बनेको छ । यसलाई हिन्दू नाम दिन्छौं भने पनि यसको स्वरुप र प्रकृति अन्य ठाउँमा हिन्दू भनिएको धर्मसँग मिल्दैन ।’

संविधानमा हिन्दू राष्ट्र लेख्दा त्यसले मुलुकको वास्तविकता, इतिहास, परम्परा केहीलाई पनि सम्बोधन गर्न नसक्ने भन्दै कोइरालाले नेपाली जनताको बहुधार्मिक चरित्रलाई हिन्दू राष्ट्र र धर्म निरपेक्षताले प्रतिनिधित्व गर्न नसक्ने उल्लेख गरे ।
उनले प्रदेश र जिल्ला समन्वय परिषद् खारेजीको पनि प्रस्ताव राखेका छन् ।

उनले भने, ‘यही निर्वाचन प्रणाली कायम रहेमा नेपालमा चुनावबाट पहिलो, दोस्रो दल हुनुको अर्थ रहँदैन । बरु, तेस्रो चौथो या पाँचौं दल बन्नुमा फाइदा देखिन्छ । हामीले निर्वाचन प्रणाली नै गलत बनायौं’

६० प्रतिशत प्रत्यक्ष निर्वाचित र ४० प्रतिशत समानुपातिक निर्वाचित प्रणाली कायम राख्ने हो भने कुनै एक दलको बहुमत आउने सम्भावना नहुने भन्दै उनले संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्न प्रस्ताव गरेका छन् ।
कोइरालाले प्रत्यक्ष निर्वाचितबाट प्रतिनिधि सभा र समानुपातिक निर्वाचनबाट राष्ट्रिय सभा बनाउने प्रस्ताव गर्दै राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गर्नुपर्ने बताए ।

जारी बैठकमा उनले दोहोरो नागरिकताको व्यवस्था हुनुपर्ने, विदेश बस्नेले पनि मत दिन पाउनुपर्ने प्रस्ताव समेत अघि सारेका छन् । भ्रष्टाचार नियन्त्रणका लागि अहिले भएका संस्थाहरु प्रभावकारी हुन नसकेको ठोकुवा गर्दै जनअनुगमन सहितको उच्चस्तरीय सर्वाधिकार सम्पन्न आयोगको संवैधानिक व्यवस्था गर्नुपर्ने उनको धारणा थियो ।

नेपाली समाजमा तीतो सत्य भन्दा मीठो झुठको बोलवाला बढ्दै गएको भन्दै कोइरालाले यो अवस्थालाई चिर्न नेपाली समाज र राजनीतिमा तर्क, बुद्धि र विवेकको प्रधानता स्थापित गर्न नेपाली कांग्रेसले अगुवाई गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖