• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रिय सभा निर्वाचन : हुम्लाका माओवादी जनप्रतिनिधिले भोट नहाल्ने


  • धनकुटा खबर
  • .

सिमकोट ।राष्ट्रिय सभाको टिकट वितरणमा पार्टी केन्द्रका नेताहरूले आफूखुसी गरेको भन्दै सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्र हुम्लाका सबै जनप्रतिनिधिले मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेका छन्।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा आइतबार बसेको जनप्रतिनिधिहरूको बैठकले राष्ट्रियसभामा हुम्लाले अवसर नपाए कुनै पनि प्रक्रियामा भाग नलिने निर्णय गरेको हो ।

सत्ता गठबन्धनबिच राष्ट्रियसभाको सिट बाँडफाँडको टुङ्गो लागेका बेला कर्णाली प्रदेश र सङ्घीय सरकारको नेतृत्व गरेको माओवादी हुम्लाले गरेको निर्णयले गठबन्धनमा ठुलो सङ्कट उत्पन्न भएको छ।

सात वटा गाउँपालिका भएको हुम्लाबाट स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा निर्वाचित आठ जनप्रतिनिधिले आसन्न राष्ट्रिय सभा निर्वाचन र पार्टीका प्रदेश तथा केन्द्रका कुनै पनि गतिविधिमा सहभागी नहुने निर्णय गरेका हुन्।

राष्ट्रिय सभा सदस्यको उम्मेदवार लागि माओवादी केन्द्र हुम्लाबाट जिल्ला समन्वय कमिटीमा संयोजक डा. दिपेन्द्र रोकायालाई एकल सिफारिस गरे पनि प्रदेश र केन्द्र पार्टीबाट सम्बोधन नहुने भएपछि शनिबार सङ्घीय राजधानीमा बसेको जनप्रतिनिधिहरूको सामूहिक बैठकले यस्तो निर्णय गरेपछि सत्ता गठबन्धनमा ठुलो हलचल उत्पन्न भएको छ।

सिमकोट गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षतामा बसेको बैठकले पार्टीको साङ्गठनिक तथा आम निर्वाचनमा ठुलो भूमिका खेलेको हुम्ला नेताहरूको पूर्वाग्रही सोचका कारण प्राथमिकता नपरेको निचोड निकालेको छ।

‘विभिन्न ९ वटा निर्णय गरेको बैठकमा अहिलेसम्म जुन रूपमा माओवादी केन्द्र हुम्लाको भूमिकालाई बाइपास गर्ने काम भयो त्यसले हामीलाई आसन्न माघ ११ गतेको राष्ट्रिय सभाको निर्वाचनमा भाग नलेऊ भन्ने निर्देशन गरेको छ माओवादी कर्णाली प्रदेश उपसचिव समेत रहेका ताँजकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैशीले भने, अब हामी कुनै पनि हालतमा यथास्थितिमा पार्टीका प्रदेश र केन्द्रीय स्तरका गतिविधि लगायत राष्ट्रिय सभा निर्वाचनको मतदान प्रक्रियामा भाग लिन सक्दैनौँ ।’

निर्वचनको सम्मुखमा आयोजना गरिएको पुस २५ र २६ गतेको कर्णाली प्रदेश कमिटी बैठकमा समेत सहभागिता नजनाउने निर्णय गरेको जनाउँदै केन्द्रीय सदस्य भण्डारीले सङ्गठन निर्माणका लागि अरूलाई ताकेता गर्ने प्रदेशका नेताहरूले पार्टीको लाभ वितरणमा आफू केन्द्रित भएर हेरेकै कारण लामो समयको पर्खाइपछि हुम्लाले अप्रिय निर्णय गरेको उल्लेख गरे ।

‘हाम्रो टाउको छेदन गरेपनि, अहिलेको पार्टी र सत्ताको पद खोसे पनि खोसियोस् तर अहिलेकै स्थितिमा पार्टीले पुनर्विचार नगरे माओवादी केन्द्र हुम्ला न पार्टीका प्रदेश र केन्द्रीय गतिविधिमा सामेल हुन्छ न आसन्न राष्ट्रिय सभा निर्वाचनमा नै सहभागी हुन्छ’, नेता भण्डारीले थपे ।

माओवादी उपमहासचिवद्धय जनार्दन शर्मा (प्रभाकर)ले रुकुमपश्चिम, शक्तिबहादुर बस्नेतले जाजरकोट र केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले कालीकोटमा मात्रै केन्द्रित गरेका कारण हुम्ला यस्तो निर्णय लिन बाध्य भएको नेताहरूले बताएका छन्।

माओवादी हुम्लाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई यो निर्णय बुझाइसकेको छ। माओवादीबाट हुम्लाका प्रतिनिधि सभामा छिरिङदम्डोल लामा (कार्चेन), कर्णाली प्रदेश सभामा रणसिंह परियार, जुम्कीत लामा, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध), ताँजकोट गाउँपालिका अध्यक्ष लालकेश जैशी, नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा, अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया (सुधार) र खार्पुनाथ गाउँपालिका उपाध्यक्ष रहेका छन् ।

माओवादीले कर्णालीबाट कालिकोटका विष्णु बिकलाई राष्ट्रिय सभाका लागि अघि सार्ने औपचारिक निर्णय गरिसकेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖