• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

माओवादीमा बिद्रोह, राष्ट्रिय सभा निर्वाचन बहिष्कार गर्ने हुम्लाको निर्णय


  • धनकुटा खबर
  • .

हुम्ला, राष्ट्रिय सभाको टिकट वितरणमा नेताहरुले आफूखुसी गरेको भन्दै हुम्लाका सवै जनप्रतिनिधिले यथास्थितिमा मतदान नै बहिष्कार गर्ने निर्णय गरेका छन ।

सत्ता गठबन्धनबीच राष्ट्रियसभाको सीट बाँडफाँड अन्तिम चरणमा पुगेकै बेला सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रका जनप्रतिनिधिले लिखित रुपमै यस्तो निर्णय गरेका हुन । हुम्लामा नेकपा माओवादीका आठ जना जनप्रतिनिधि रहेका छन ।

माओवादीबाट हुम्लाका प्रतिनिधि सभामा छिरिङदम्डोल लामा (कार्चेन), कर्णाली प्रदेश सभामा रणसिंह परियार, जुम्कीत लामा, सिमकोट गाउँपालिका अध्यक्ष बीजय भण्डारी (प्रतिरोध), ताँजकोट गाउँपालिका अध्यक्ष लालकेश जैशी, नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा, अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया (सुधार) र खार्पुनाथ गाउँपालिका उपाध्यक्ष रहेका छन् ।

माओवादी जिल्ला समन्वय समितिका संयोजक डा. दिपेन्द्र रोकायालाई राष्ट्रिय सभाका लागि एकल नाम सिफारिस गरेको माओवादी केन्द्र हुम्लाले पार्टीको तर्फबाट रुकुमपश्चिम, जाजरकोट र कालीकोटले मात्रै लाभ लिएको भन्दै बिद्रोह गरेको हो । यस पटक पनि हुम्लालाई बेवास्ता गरेर उम्मेदवार नबनाए मतदान प्रक्रियामै सहभागी नहुने निर्णय माओवादी हुम्लाले गरेको छ ।

माओवादीले कर्णालीबाट कालिकोटका विष्णु बिकलाई राष्ट्रिय सभाका लागि अघि सारेको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा आज बसेको जनप्रतिनिधिहरुको बैठकले दश जिल्ला भएको कर्णाली प्रदेशमा पार्टीको आधार इलाकाका रुपमा रुकुमपश्चिम र कालीकोट पछिको तेस्रो स्थान हुँदापनि पार्टीले दिने लाभका पदमा जहिले पनि अन्यायमा परेका कारण यस पटक पार्टीको तर्फबाट राष्ट्रियसभाको टिकट हुम्लाले नपाए कुनैपनि प्रक्रियामा भाग नलिने निर्णय गरेको हो ।

‘प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन होस् वा स्थानीय तहको निर्वाचन होस् सबैमा माओवादीको आधार इलाका बनाएको हुम्लालाई राजकीयदेखि पार्टीको सांगठानिक जिम्मेवारीमा जहिल्यै विभेद गर्ने काम भएको छ’, निर्णयमा भनिएको छ, ‘हरेक पटक भोट हाल्ने हुम्ला माओवादीले यस पटक कुनैपनि हालतमा टिकट पाएन भने आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन र प्रदेश देखि केन्द्रमा हुो पार्टीको सांगठनिक कामलाई समेत वहिष्कार गर्ने निचोडमा हामी पुगेका हौं ।’

माओवादी उपमहासचिवद्धय जनार्दन शर्मा (प्रभाकर)ले रुकुमपश्चिम, शक्तिबहादुर बस्नेतले जाजरकोट र केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले कालीकोटमा मात्रै केन्द्रित गरेका कारण हुम्ला यस्तो निर्णय लिन बाध्य भएको नेताहरुले बताएका छन । माओवादी हुम्लाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई यो निर्णय बुझाइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖