• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

सिद्धबाबा सुरुङ मार्गको निर्माण कछुवा गतिमा, ४ महिनामा खनियो १ मिटर


  • धनकुटा खबर
  • .

काठमाडौं। सिद्धबाबा सुरुङ मार्ग निर्माणको काम निकै सुस्त देखिएको छ। काम सुरु भएको ४ महिनामा जम्मा १ मिटर खनिएको छ।

गत भदौ अन्तिममा सुरुङ मार्ग खन्ने काम सुरु भएकामा अहिलेसम्म १ मिटर सकिएको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन्। ‘मुख्य सुरुङ खन्ने काम एक मिटरसम्म पुगेको छ,’ उनले भनिन्।

सुरुङ मार्ग बनाउन २०७८ जेठमा ग्लोबल टेन्डर आह्वान गरिएकामा ठेक्का सम्झौता गर्न ९ महिना लागेको थियो। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीसँग २०७८ फागुनमा ठेक्का सम्झौता गरिएको हो।

‘अहिले मुख्य सुरुङको अगाडिको भागको डिजाइन पास भएर काम भइरहेको छ। इभ्याकुएसन इमर्जेन्सी टनेलको पनि काम सुरु गरिएको छ। यसमा हरेक तहमा डिजाइन आवश्यक पर्छ। जस्तै अहिले टनेलको इन्ट्रीको डिजाइन बनाइएको छ भने सुरुङ खन्दै गएपछि भित्रि भागमा के के गर्ने भन्ने कुराहरुको पनि डिजाइन बन्दै जान्छ,’ उनले भनिन्।

उनका अनुसार बाइपास र वर्षाको बेला पहिरो गएको स्थानमा स्लोप स्टेबलाइजेसन गर्ने काम पनि भइरहेको छ। ‘हामीले एकै पटक सबै डिजाइन स्वीकृत गरेर काम गर्न खोज्दा ढिला हुने देखिएपछि अहिले बाहिरी स्थानको डिजाइन स्वीकृत गरेर काम गरिरहेका छौं,’ उनले भनिन्। सम्झौताअनुसार सुरुङ निर्माणको काम २०८३ भित्र सक्नुपर्छ।

सुरुङ मार्ग ११ सय २६ मिटर लम्बाइको हो। ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएकामा अहिलेसम्म १२ प्रतिशत अर्थात ८८ करोड रुपैयाँ खर्च भएको छ। सुरूङ मार्ग निर्माणपछि अहिलेको सडकको दूरी ४ किलोमिटर घट्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖