• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

विद्यालयबाट नैतिक शिक्षा किन हटाइयो ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा.तोशिमा कार्कीले विद्यालय तहबाट नैतिक शिक्षा किन हटाइएको भन्दै प्रश्न गरेकी छन्। संसद्को शिक्षा समिति बैठकमा बोल्दै राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रलाई मोरल एजुकेसन किन हटाइएको भन्दै प्रश्न गरेकी हुन्।

‘मैलै पढ्दा कक्षा ५ मा नै मोरल साइन्स पढेको थिए। मान्छेलाई नैतिक बनाउन त्यो नैतिक शिक्षा निकै महत्त्वपूर्ण छ। यो किन हटाइयो ? फेरि राख्न खोजिएको छ कि नाइँ ?’ उनले प्रश्न गरिन्।

सरकारी र निजी विद्यालयमा एउटै खालको पाठ्यक्रम किन लागू हुन नसकेको भन्दै उनले प्रश्न गरिन्। विद्यार्थी आफैँमा शिक्षक, नर्स, डाक्टर भएको भन्दै योबारे समेत शिक्षा दिनुपर्ने बताइन्। बच्चालाई सानै उमेरमा ट्राफिक शिक्षाका बारेमा जानकारी दिनुपर्ने भन्दै त्यो पाठ्यक्रममा नै समावेश गर्नुपर्नेमा जोड दिइन। सानै उमेरमा बच्चाहरूलाई अपाङ्गताका कुरा, नैतिक शिक्षाबारे अति आवश्यक रहेको उनको भनाइ छ।

कक्षा १० पास गरिसकेपछि विद्यार्थीहरूलाई स्वदेशमै भविष्य छ भन्ने विश्वास दिलाउन सक्नुपर्ने उनको भनाइ थियो । सांसद चन्द्र भण्डारीले नयाँ शिक्षा मुलुकको निम्ति नभएको बताए। दुनियाँलाई नेपालले सेल गर्ने भनेको संस्कृति भएको बताउँदै यसमा पछि परेको बताए। त्यस्तै सांसद सरिता भुसालले अहिलेको शिक्षा प्रणालीले कस्ता नागरिक उत्पादन भइरहेको भन्दै प्रश्न गरिन। बच्चालाई सकारात्मक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिँदै उनले बालबालिकाहरूलाई विदेश जान रोक्ने खालको पाठ्यक्रमको विकास गर्नुपर्ने बताइन्।

अर्का सांसद विद्या भट्टराईले निजी विद्यालयले पाठ्यक्रम विकास केन्द्रले बनाएको पाठ्यक्रम किन लागू गर्न नमानेको भन्दै प्रश्न गरिन्। त्यस्तै डा.कालुराम राईले मातृभाषाको शिक्षाबारे प्रश्न गरे।

जवाफमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले सरकारी र निजीको पाठ्यक्रम एउटै भएको तर पाठ्यक्रम सामग्री फरक हुन सक्ने बताए। ‘पाठ्यक्रम देशैभर एउटै लागू हुन्छ। त्यसमा पाठ्यसामग्री फरक हुन सक्छ। केन्द्रले नै बनाएको पाठ्यक्रमको आधारमा पढाइ हुन्छन्’ अर्यालले भने।

नैतिक शिक्षाको हकमा २०६० सालदेखि मोरल साइन्स हटाइएको बताए। नैतिक शिक्षाका विषय अहिले सामाजिक अध्ययन विषयमा समावेश गरिएको उनले बताए। ट्राफिक रुल, स्वास्थ्य शिक्षा लगायतका विषय अहिले नैतिक शिक्षाको ठाउँमा सामाजिक अध्ययन, शारीरिक शिक्षा तथा विज्ञान विषयमा राखिएको बताए।

पाठ्यक्रम विकास केन्द्रलाई अहिले राष्ट्र र राष्ट्रियताको विषय विद्यालय शिक्षामा कमी भएको हो कि भन्ने महसुस भइरहेको समेत अर्यालले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖