• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

अहिले कुन क्षेत्रमा गइरहेको छ सबैभन्दा बढी ऋण?


  • धनकुटा खबर
  • .

आर्थिक गतिविधि घटिरहँदा बैंक तथा वित्तीय संस्थाहरूबाट विभिन्न संस्थाहरूलाई भइरहेको कर्जा लगानीमा वृद्धि भएको छ।

चालु आर्थिक वर्षको पाँच महिनामा (साउनदेखि मंसिरसम्म) वित्तीय क्षेत्र बाहेकका संस्थालाई बैंकहरूले आफ्नो कुल कर्जाको ६३.१ प्रतिशत लगानी गरेका छन्।

व्यक्तिगत र घरपरिवारलाई जाने कर्जा ३६.९ प्रतिशत छ। ३० खर्ब ९७ अर्ब रूपैयाँ कर्जा लगानी संस्थाहरूमा र १८ खर्ब व्यक्तिगत र घरपरिवारमा लगानी भएको हो।

गत असारसम्ममा संस्थाहरूमा ६२.७ प्रतिशत र व्यक्तिगत तथा पारिवारिक कर्जा ३७.३ प्रतिशत लगानीमा थियो।

यो अवधिमा बैंकहरूले ४९ खर्ब ९५ अर्ब कर्जा लगानी गरेकोमा निजी क्षेत्रतर्फ ४९ खर्ब ७ अर्ब कर्जा लगानी भएको छ। गत असार यता निजी क्षेत्रमा जाने कर्जा २.३ प्रतिशतले बढेको छ। निजी क्षेत्रले तिर्नुपर्ने ब्याज एक खर्ब ७४ अर्ब रूपैयाँ छ।

यो पाँच महिनाको अवधिमा आयात, औद्यौगिक, व्यापारिक संस्थाको चालु सम्पत्ति व्यवस्थापनको लागि, व्यक्तिगत घरजग्गा, सेयर धितोमा जाने कर्जा सबैभन्दा धेरै गइरहेको छ।

आयातको लागि जाने कर्जा १४.५ प्रतिशतले बढेर ८४ अर्ब रूपैयाँ पुगेको छ। औद्यौगिक, व्यापारिक संस्थाको चालू सम्पत्ति व्यवस्थापनको लागि जाने कर्जा (क्यास क्रेडिट लोन) पनि १४.५ प्रतिशतले बढेर ५ खर्ब ९१ अर्ब रूपैयाँ पुगेको छ।

घर कर्जा, रियल स्टेट कर्जा, हायर पर्चेज कर्जा बाहेकका निश्चित अवधिका कर्जा आवधिक कर्जा लगानी समेत १०.३ प्रतिशतले बढेर १७ खर्ब ४२ अर्ब रूपैयाँ पुगेको छ।

२ करोडसम्मको व्यक्तिगत घरकर्जा ८.५ प्रतिशतले बढेर ३ खर्ब ७७ अर्ब र सेयर धितोमा जाने कर्जा ६.४ प्रतिशतले बढेर ८१ अर्ब १९ करोड रूपैयाँ पुगेको छ।

यो अवधिमा सवारी साधनको खरिदको लागि जाने कर्जा, व्यवसायिक घर कर्जा, औद्यौगिक, व्यापारिक संस्थाको तत्कालको आवश्यताको लागि जाने चालु पुँजी कर्जा लगानी घटेको छ।

सवारी साधनको खरिदको लागि जाने हायर पर्चेज कर्जा १९ प्रतिशतले घटेर एक खर्ब २९ अर्ब रूपैयाँमा सीमित भएको छ। व्यवसायिक घरकर्जा २.१ प्रतिशतले घटेको छ।

यस्तो कर्जा २ खर्ब ४४ अर्ब छ। औद्यौगिक, व्यापारिक संस्थाको तत्कालको आवश्यताको लागि ८ खर्ब ४३ अर्ब कर्जा लगानी भएको छ। यो चालु पुँजी ४.१ प्रतिशतले घटेको हो।

क्षेत्रगत आधारमा हेर्दा उत्पादनमूलक क्षेत्र, निर्माण क्षेत्र र विद्युत उत्पादन क्षेत्रमा जाने कर्जा बढेको छ।

उत्पादनमूलक क्षेत्रमा जाने कर्जा ६.३ प्रतिशतले बढेर ८ खर्ब रूपैयाँ पुगेको छ। यो क्षेत्रका स्टिल, आइरन उत्पादन, ढुंगा, गिट्टी उत्पादन, छापाखाना, मदिराबाहेकका पेय पदार्थ उत्पादन र खाद्य प्रशोधन तथा प्याकेजिङ क्षेत्रमा जाने कर्जा बढेको हो।

निर्माण क्षेत्रमा जाने कर्जामध्ये आवास निर्माण, गैर आवास निर्माण र पुल, राजमार्ग जस्ता ठूला निर्माणमा जाने कर्जा बढेको छ। यो क्षेत्रमा जाने कर्जा ८.१ प्रतिशतले बढेर २ खर्ब १९ अर्ब पुगेको छ। विद्युत क्षेत्रमा जाने कर्जा भने ५.७ प्रतिशतले बढेर ३ खर्ब १६ अर्ब पुगेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖