• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेसको पार्टी कार्यालय बनाउन १४ लाख बजेट विनियोजन, पालिकामा जनप्रतिनिधिले लगाए ताला


  • धनकुटा खबर
  • .

५ माघ, पोखरा । बागलुङको तमानखोला गाउँपालिकाले बागलुङ नगरपालिकामा भन्ने भनिएको नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय भवन बनाउन बजेट विनियोजन गरेको छ ।पुस २९ गतेदेखि सुरु भएको पालिकाको हिउँदे अधिवेशनले पार्टी कार्यालय भवन बनाउन १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

पालिकाले अर्को पालिकामा अमूक पार्टीको पार्टी कार्यालय बनाउन बजेट विनियोजन गरेपछि नेकपा माओवादीका जनप्रतिनिधिले विरोध जनाएका छन् । बजेट विनियोजन निर्णय फिर्ता गर्न विरोध जनाउँदै उनीहरुले बिहीबार तमानखोला गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

तमानखोला गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष छप्रसाद श्रिपालीले हिउँदे सभामा आफूहरुले असहमति राख्दाराख्दै पेलेर निर्णय गरेकाले आफूहरुले बाध्य भएर पालिकामा तालाबन्दी गर्नुपरेको बताए ।

‘पुस २९ गतेदेखि सभा सुरु भयो । त्यो दिन पनि हामीले विरोध जनायौं । तर, माघ ४ गते उहाँहरुले हामीलाई बाहिर निकालेरै निर्णय गर्नुभयो,’ उनले भने ।

आफूहरुले पार्टी कार्यालय बनाउने भए तमानखोलामै बनाउन आग्रह गर्दा पनि नमानेको दाबी गरे । ‘यहाँ बनाउनुस्, त्यो तमानखोलाकै सम्पत्ति हुन्छ । तर, यहाँको बजेट अर्को पालिकामा पठाउने न्यायोजित हुँदैन भनेर भनेका हौं’, उनले भने, ‘तर, उहाँहरु छलफल नै गर्न चाहनुभएन ।’

श्रीपालीले आफूहरुले ‘नोट अफ डिसेन्ट’ लेख्न पाउनुपर्ने मागसहित उभिएर विरोध जनाउँदा सभाबाटै बाहिर निकालिएको दाबी गरेका छन् ।

‘बहुमतले निर्णय गर्ने भए गर्नुस् । तर, माइन्युटमा हामीलाई नोट अफ डिसेन्ट लेख्न दिनुस् भनेर विरोध जनाउँदा बैठकबाट बाहिर निकालियो । पेलेर निर्णय गरियो,’ उनले भने । वडाध्यक्ष श्रिपालीले पालिकाले उक्त निर्णय फिर्ता नगर्दासम्म आफूहरुको विरोध जारी रहने बताएका छन् ।

तमानखोलाको नगरसभामा पालिका अध्यक्ष, उपाध्यक्षसहित नेपाली कांग्रेसको बहुमत छ । नेपाली कांग्रेसका २३ जना सभा सदस्य छन् भने नेकपा माओवादीका ११ जना सभा सदस्य छन् ।

तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले पालिकाले पार्टी कार्यालय नभई विपी स्मृति प्रतिष्ठानको भवन बनाउन बजेट विनियोजन गरिएको बताए । उक्त भवन बागलुङ नगरपालिकामा नेपाली कांग्रेस जिल्ला कमिटीले बनाउने उनले जानकारी दिए ।

बुढामगरले नगर सभाको बैठकमा असन्तुष्ट पक्षले तालाबन्दी गरेको र खुलाउन आफूहरु छलफलमै रहेको जानकारी दिएका छन् । ‘बैठकको निर्णयमा उहाँहरुको केही असहमति थियो । सभामा उपस्थित बहुमत सदस्यहरुले पारित गर्नुभएको हो,’ उनले भने ।

अध्यक्ष मगरले नेकपा माओवादीका जनप्रतिनिधिहरुले भनेजस्तो आफूहरुले सभाबाट ननिकालेको दाबी गरेका छन् । ‘२९ गतेको बैठकमा पनि उहाँहरुले त्यही कुरामा विवाद गरेर सभा स्थगित भयो । हिजो (बिहीबार) उहाँहरु उपस्थित नै हुनुहुन्थेन’, उनले भने, ‘उहाँहरु नभएपछि सभामा उपस्थित साथीहरुले बहुमतले त्यो निर्णय पारित गर्नुभएको हो ।’

पालिकामा ‘नोट अफ डिसेन्ट’को गलत अभ्यास सुरु नगर्न आफूहरुले रोक लगाएको पालिका अध्यक्ष मगरको भनाइ छ । ‘लोकतन्त्रमा बहुमत र अल्पमतको प्रक्रिया हुन्छ । हामीले त्यही गरेको हो’, उनले भने, ‘नोट अफ डिसेन्ट राख्न पनि उहाँहरुको उपस्थिति पुग्ने पनि होइन । बहुमतको कदर गर्नुपर्छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖