• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रियसभा निर्वाचन: ३८ प्रकारका ६ हजार ९१० मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पठाईयो


  • धनकुटा खबर
  • .

काठमाडौं,५ माघ । माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पुगेको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइएको जानकारी दिए । उनका अनुसार प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको मतपत्र छापिएको छ ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको मतपत्र छापिएको छ ।

कोसी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२०, मधेस प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४०, वाग्मती प्रदेशमा चार पदका लागि आठ प्रकारका एक हजार ७६० मतपत्र पठाइएको उनले बताए ।

त्यस्तै, गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्र, लुम्बिनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४० मतपत्र छापिएको छ ।

कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ७५० मतपत्र र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्र पठाइएको छ ।

१९ राष्ट्रियसभा सदस्य पदका लागि माघ ११ गते मतदान हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । त्यसका लागि ३८ प्रकारका कुल ६ हजार ९१० मतपत्र पठाइएको पन्थीले बताए ।

राष्ट्रिय सभाको १९ सिटका लागि सातै प्रदेशमा ५२ जना उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖