• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सरकार गम्भीर नबने ट्याक्सी व्यवसायीहरु आन्दोलनमा उत्रिने


  • धनकुटा खबर
  • .

काठमाडौं, ६ माघ । सम्पूर्ण ट्याक्सी यातायात व्यवसाय र स्वरोजगार मजदुर चालक स्वतन्त्र संघर्ष समितिले हाल बजारमा उपलब्ध ट्याक्सी स्वरोजगार व्यवसायीले खरिद गर्नलाई महँगो परेका भन्दै सस्तो र सहज वातावरण मिलाई दिन सरकारसँग माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ट्याक्सी चालक, व्यवसायी र संवद्ध संस्थाहरुले सरकारको ध्यानाकार्षण गराएका हुन् । उनीहरुले विभिन्न ८ बुँदे माग सरकारसँग राखेका छन् ।

सरकारले ट्याक्सी सम्बन्धि कुनै पनि योजना निर्माण गर्दा अनिवार्य ट्याक्सीको एक मात्र छाता संस्था नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यावसायी तथा चालक सेवा समाजको प्रतिनिधि अनिवार्य रहनु पर्ने उनीहरुको माग छ । त्यसैगरी
अहिले बजारमा पुरानो ट्याक्सीको मुल्य केहि बिचौलिया दलालहरुले निमुखा गरिव स्वरोजगार चालकको ढाड सेक्ने गरी आफुखुसी अत्याधिक मुल्य बृद्धि गरी २४ प्रतिशतसम्म ब्याज उठाई स्वरोजगार व्यवसायीलाई शोषण गरिरहेको उनीहरुको दाबी छ । उक्त कार्यको छानबिनको लागि छानबिन आयोग गठन गरिनु पर्ने उनीहरुको माग छ । निजि दुई तथा चार पाङ्ग्रे सवारीले गरेको भाडाको गैरकानुनी काम तत्काल बन्द गरिनुपर्ने, वैज्ञानिक भाडादर कायम गरिनुपर्ने उनीहरुको माग छ ।

त्यसैगरी स्क्याप ट्याक्सीको सट्टा भर्नामा दिने ट्याक्सी सरकारले बजेट भाषणमा उललेख गरेको भन्सार छुट सहित न्युनतम ८ प्रतिशत व्याजदरमा १० प्रतिशत डाउन पेमेन्टमा २०० कि.मि भन्दा माथि रेन्ज भएका ट्याक्सी उपलब्ध गराउन हाल प्रदेश सरकारले बनाएको मापदण्ड मा परिमार्जन मात्र नभई उपत्यकामा रहेका प्रत्येक गाडी सोरुमकम्पनिले निजि गाडीमा बिक्री गर्ने सबै प्रकारका गाडी ट्याक्सी व्यवसायीको चाहानाअनुसार सबै किसिमको गाडी ट्याक्सीमा पनि खरिद गर्न पाउने निर्णय गरिनु पर्ने उनीहरुको माग छ ।

साथै, चौबिसै घण्टा अनलाईनबाट काटिने पटके प्रणाली लागू गरिनु पर्ने, हालको सिल लगाउने पुराना मिटर खारेज गरी सिल नलगाउने आधुनिक डिजिटल मिटर जडान गरिनु पर्ने र उचित ट्याक्सी स्ट्याण्डको व्यबस्था गरिनुपर्ने उनीहरुको माग छ ।

ट्याक्सी व्यवसायी तथा अभियन्ता सानु पूर्वाछानेले आफूहरुले ट्राफिक प्रहरीबाट धेरैनै हैरानी खेप्नुपरेको बताए । उनले यातायात कार्यलयमा खुलेआम भ्रष्टाचार भइरहेको आरोप लगाए । आफूलाई विचौलिया र दलालहरुले विभिन्न आरोप लगाएको भन्दै उनले आपत्ति जनाए । ट्याक्सी व्यवसायीका नाममा दिन रात नभनी खट्दा पनि विभिन्न आरोप सामना गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

ट्याक्सी समस्या समाधान समितिका संयोजक राम थापा, नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष राजकुमार श्रेष्ठ, व्यवसायी तथा अधिवक्ता भरत घिमिरेलगायतले ट्याक्सी व्यवसायीको मागप्रति सरकार गम्भीर हुनुपर्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖