• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

उपेन्द्र यावद र सिके राउतबीच प्रतिष्ठाको लडाईँः जनमतद्वारा मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी


  • धनकुटा खबर
  • .

काठमाडौं, ७ माघ । जनमत पार्टीले विभिन्न ७ बुँदे माग राख्दै सप्तरीस्थित मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी गरेको छ ।कृषि विश्वविद्यालयलाई कुनै पार्टी विशेषको निजी सम्पत्ति बनाएर भ्रष्टाचार र गैरकानूनी हर्कत भएको भन्दै जनमतले आजदेखि आन्दोलनसहित विश्वविद्यालयमा तालाबन्दी गरेको हो ।

उक्त विश्वविद्यालयको भवन शिलान्यासलाई लिएर केही दिनदेखि जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा) बीच विवाद सुरु भएको थियो । मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास जसपा अध्यक्ष उपेन्द्र यादवबाट गराउने तयारी भएपछि जनमतका अध्यक्ष डा. सिके राउतले चर्को विरोध गरेका थिए । जनताबाट तिरस्कृत पात्र (निर्वाचन हारेका) बाट उक्त विश्वविद्यालयको भवन शिलान्यास गराउन नहुने जनमतको अडान थियो ।

यसबारे जनमतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई उक्त शिलान्यास कार्यक्रम तत्काललाई रोक्न आग्रह गरेको थियो । तर, मुख्यमन्त्री यादवले सबै तयारी पूरा भइसकेको र कार्यक्रम रोक्न नमिल्ने जानकारी गराएपछि जनमत आन्दोलनसहित तालाबन्दीमा उत्रिएको हो ।

‘जनताबाट बहिष्कृत नेता वा पात्रको ईशारामा भ्रष्ट र अनियमित तरीकाले हरेक कामकाजलाई बढाउनु विश्वविद्यालयको दुर्भाग्य हो। विश्वविद्यालयका सहकुलपति प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवलाई जानकारी नै नदिई विश्वविद्यालयको कामकाजलाई गैरकानूनी तरीकाले बढाएका हर्कतहरू निन्दनीय तथा खेदजनक छ,’– जनमतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विश्वविद्यालयमा दलीयकरण बन्द हुनुपर्ने, गैरवैधानिक काममा रोक लगाउनुपर्ने, विश्वविद्यालयको डि.पी.आर.मा भएको भ्रष्टाचारको छानबिन हुनुपर्ने जनमतको माग छ ।

त्यसैगरी, ठेकापट्टामा भइरहेको मिलेमतो बन्द हुनुपर्ने, परीक्षा बोर्डबिना लिइएको परीक्षाको छानबिन गरिनुपर्ने, न्युक्तिमा राजनीतिकरणको अन्त्य हुनुपर्ने र ऐन कानूनलाई पूर्ण रूपमा कार्यान्वयन गरिनुपर्ने जनमतको माग छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖