• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

१५ वर्षअघिको हत्या घटनामा पञ्चा सिंहविरूद्ध पक्राउ पुर्जी


  • धनकुटा खबर
  • .

१५ वर्षअघि भएको हत्याको घटनामा नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट पञ्चा सिंहसहित छ जनाविरूद्ध पुर्जी जारी भएको प्रहरी स्रोतले जानकारी दियो।

२०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या भएको थियो। सुर्खेत वीरेन्द्रनगरस्थित जनमाविमा राजबहादुरको हत्या भएको थियो।

हत्याको अभियोगमा प्रहरी कार्यालयमा ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता भएको थियो।

किटानी दर्ता भएका ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले बतायो।

टाइगर भनिने पदमबहादुर रावत, पञ्चा सिंह, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुभाष भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनीहरूको खोजी गरिरहेको छ।
पञ्चा सिंहले भने यसबारे आफूलाई जानकारी नभएको बताएकी थिइन्। केही दिन अघि समाचार बाहिरिएपछि उनले सामाजिक सञ्चालमार्फत यसबारे छानबिन गर्नुपर्ने भन्दै लेखेकी थिइन‍्।

‘१५ वर्ष अगाडि घटना कसरी घट्याे, किन घट्यो, कसको कारणले घट्याे भन्ने बारेमा न्यायिक र सत्य तथ्य छानबिन हाेस्। यसमा मेराे सहयाेग रहनेछ। स्थानीय राजनीतिक प्रतिशाेधका आधारमा झुट्टा मुद्दा दर्ता गरिएको विषय याे घटनाकाे सत्यता उजागर भएसँगै सार्वजनिक हुने नै छ,’ उनले भनेकी थिइन्, ‘राजनीतिक जीवन सुरू भएसँगै हरेक चरण षड्यन्त्रपूर्ण रूपमा कथाहरू तयार गर्ने र आराेपित गर्ने दुष्प्रयास नभएका हाेइनन्। याे घटना आराेपहरूकाे उत्कर्षकाे रूपमा रहेकाे बुझेकाे छु र यही अनुरूप सामना गर्न पनि तयार रहेकाे जानकारी गराउँछु।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖