• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

एमाले राप्रपा बोकेर कृष्ण सिटौला हराउने चलखेलमा छ : उपमहासचिव पुन


  • धनकुटा खबर
  • .

विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले निरंकुश राजतन्त्रको एजेण्डा बोकेर हिँडेको राप्रपासँग साँठगाँठ नगर्न एमाले नेतृत्वलाई आग्रह गरेका छन् ।

कोशी प्रदेशमा सत्ता गठबन्धनले खडा गरेका राष्ट्रियसभा निर्वाचनका उम्मेदवार र मतदाताबिच सोमबार विराटनगरमा आयोजित अन्तरक्रियामा उनले परिवर्तन विरोधी शक्तिसँगको सहकार्यले एमाले नेतृत्वमाथि शंकाको वातावरण निर्माण भएको बताए ।

राप्रपा जनतालाई आफ्नै घरको आँगनमा समेत उभिन नदिने निरंकुशतन्त्रको प्रतिनिधि दल भएको पुनको टिप्पणी थियो । ‘जनतालाई आफ्नै घर आँगनमा पनि निस्कन नदिने र लोकतन्त्र पक्षधर शीर्ष नेतालाई थुनामा राख्ने शासक जसलाई लाखौं–लाख जनता सडकमा आएर निसस्त्र सशस्त्र आन्दोलनको बलमा निकालिएको थियो’, पुनले भने, ‘त्यस्ता शासकको पक्षमा बोल्ने शक्तिलाई बोक्नुपर्ने बाध्यता एमाले नेतृत्वलाई कसरी आइलाग्यो ?’

उनले एमाले नेतृत्वले निरंकुशतन्त्रका हिमायतीलाई बोकेर हिँड्नु लोकतन्त्रप्रतिको उपहास भएको आरोप लगाए । उनले ०७४ को निर्वाचनमा माओवादी र एमालेले तालमेल गरेको समयमा समेत आफूहरुलाई थाहै नदिई एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा–४ बाट राप्रपाका राजेन्द्र लिङ्देनलाई जिताएर कांग्रेस नेता कृष्णप्रसाद सिटौला हराएको स्मरण गरे । संविधान निर्माण र शान्ति प्रक्रियामा खेलेको भूमिकाका लागि सिटौलालाई सर्वपक्षीय समर्थन हुनुपर्नेमा उनलाई हराउने चलखेलअन्तर्गत एमालेले राप्रपा बोकेको आरोप पुनले लगाए ।

‘कृष्ण सिटौला शान्ति प्रक्रिया, संविधान निर्माणका साथै नेपाली राजनीतिको एउटा कालखण्डामा निकै ठूलो योगदान गरेको नेता हुनुहुन्छ । उहाँ जत्तिको नेताले उम्मेदवारी दिएपछि इतिहासमा खेलेको योगदानको सम्मान गर्दै सबैले सर्वसम्मत बनाउनुपर्ने हो, उम्मेदवार नै खडा गर्न नहुने हो’, पुनले भने, ‘ प्रदेश र प्रतिनिधिसभाको मुख्य प्रतिनिधित्व गर्ने भएकाले राष्ट्रियसभामा परिपक्व र सन्तुलित नेतृत्व चाहिन्छ । सिटौलाजीलाई त सर्वसम्मत बनाउनुपर्ने हो । उहाँ कसैसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्ने व्यक्ति होइन ।’

संविधानको रक्षा गर्नुपर्ने अप्ठ्यारो अवस्थामा बनेको वर्तमान गठबन्धनको निरन्तरता, संविधानको कार्यान्वयन तथा आवश्यक परिमार्जनका लागि पनि सिटौला राष्ट्रियसभामा आउनैपर्ने उनको भनाइ थियो ।-रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖