• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

गठबन्धन नगरी जित्ने पार्टी बनाउनुस्, म पनि खुसी हुन्छु : देउवा


  • धनकुटा खबर
  • .

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन विना चुनाव जित्ने अवस्था बनाउन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । गठबन्धनका कारण पार्टी बिग्रिएको नेता तथा कार्यकर्ताहरुले बताएपछि उनले गठबन्धन विनै पार्टीलाई बलियो बनाउन निर्देशन दिएका हुन् ।

‘नेपाली कांग्रेसको विधान, नेपालको संविधान अनुसार कुनैपनि पार्टीले बहुमत ल्याउने अवस्था छैन । बहुमत नहुने भएपछि कोही न कोहीसँग गठबन्धन गर्नैपर्ने हुन्छ,’ उनले भने, ‘गठबन्धन नगरिकनै जित्ने पार्टी बनाउनुस् न । गठबन्धन नगरी पार्टी बलियो बनाउनुस् न । म पनि खुसी हुँला नि गठबन्धन नभए । तर गर्ने के ? पार्टीले जित्नुपर्यो नि । सत्तामा ल्याउनुपर्यो नि । एक पटक सत्ता गयो, शेरबहादुरले बिगार्‍यो भन्नुभयो, मैले फेरि ल्याएँ । चुनाव लड्ने सत्ताकै लागि हो ।’

सबैभन्दा ठूलो जनता भएकाले जनसेवामा खटिन सबैलाई उनले आग्रह गरे । ‘सबैभन्दा ठूलो कुरा जनता हो । जसले जनताको सेवा गर्छ, जो जनप्रिय हुन्छ त्यो मात्रै अगाडि जाने हो । जनता हो मालिक यो देशको,’ उनले भने, ‘जनतामा जानुस्, यहाँ कसैलाई विरोध गरेर कोही ठूलो हुँदैन ।’

देउवाले कांग्रेस मास बेस्ड पार्टी नै भएकोले सदस्यता लगायत विषयमा भएको विवाद समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । ‘पार्टी कस्तो बनाउने भन्ने कुरा यहाँ बहस गरेर हुने होइन । कांग्रेस मास बेस्ड पार्टी नै हो । हाम्रो दुई खाले सदस्यता छ । हामीले सुरुमै एउटै सदस्यता दिनुपर्ने हो,’ उनी भन्छन्, ‘तपाईंहरुको सुझाव राम्रो छ । महासमिति बैठकमा छलफल गर्छौं । यो गर्दा उचित हुन्छ, राम्रो हुन्छ । तर साथीहरुले बुझ्नुपर्ने चाहिँ हाम्रो सदस्यता दुई खाले छ ।’

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी जहाज आउजाउ गर्न नसक्ने बताए । पोखरा पर्यटनको राजधानी घोषणासँग जोडेर एयरपोर्ट सञ्चालनको विषय उठाएका हुन् । ‘एयरपोर्ट नेपालको आन्तरिक हिसावले नै चलाउने हो । नेपाली आन्तरिक जहाज उडाउनुपर्छ । विदेशी जहाज पोखरा आउन सक्दैन भन्छन्,’ उनले भने, ‘पोखरा पर्यटनको राजधानी नै हो । नेपालमा फेरि विदेशी पर्यटकको संख्या बढेको छ । रेमिट्यान्स आएको छ । नेपाल सम्पन्न हुँदै छ । पोखराको भविष्य राम्रो छ ।’ फेवाताल संरक्षणमा लाग्न उनले अपिल गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖