काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला हारको ह्याट्रिकबाट जोगिएका छन् । बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको मतगणनामा उनले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै राष्ट्रियसभाको यात्रा सुरक्षित गरेका हुन् ।
तर, निर्वाचनको मतगणना रोचक हुन पुग्यो । सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाउँदा उद्धवले ४७ सांसदको मत पाएका थिए । अर्थात गठबन्धनबाट पाउनुपर्ने मत उनले पाएका थिएनन् । तर, स्थानीय तहतर्फ भने उनले सोचेअनुसार मत पाएपछि सकारात्मक नतिजा प्राप्त भयो ।
स्थानीय तहतर्फ सिटौला १५३ जनाको मत पाउँदा उद्धवले १०९ जनाको मात्रै मत पाए । यस्तै एमालेका पर्शुराम अधिकारीले ५ जनाको मत पाए । यस्तै उम्मेदवारी निष्क्रिय बनाएपनि अधिकारीले प्रदेशतर्फ १ मत पाएका थिए ।
नतिजाअनुसार विजयी सिटौलाले कुल ५२९२ मतभार प्राप्त गरे भने पौडेलले ४५६२ मतभार प्राप्त गरे । यस्तै अधिकारीले १४८ मतभार प्राप्त गरे ।
