• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

होला त एमाले-माओवादी सहकार्य ?


  • धनकुटा खबर
  • .

त्यसो त २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनको सम्मुखमा तत्कालीन प्रधानमन्त्री शेरबहादर देउवासँगको सत्ता सहकार्य तोडेर नेकपा माओवादी केन्द्रले एमालेसँग मिलेर चुनाव लडेको थियो भने चुनावपछि दुवै पार्टी एकता गरेर नेकपा बनेको थियो । पार्टी एकताको दुई वर्ष राम्रैसँग चलेपनि तत्कालीन अध्यक्षद्धय प्रचण्ड र केपी शर्मा ओलीको पदीय लुलुप्ता र घमण्डले पार्टी एकता लामो समय टिक्न सकेन् र नेकपा विभाजन भयो । नेकपाको एकता सर्वोच्च अदालतले भंग गरिदिएपछि एमाले र माओवादी आ-आफ्नै अवस्थामा फर्किएका थिए ।

पार्टी विभाजनपछिका साँढे दुई वर्ष एकअर्काको मुखसमेत हेर्न नरुचाएका आोली र प्रचण्ड गत वर्ष मंसिर ४ मा सम्पन्न आम निर्वाचनपछि एकाएक नजिक भए । एमालेकै समर्थनमा गत पुस १० मा प्रचण्ड मुलुकको प्रधानमन्त्री बने । तर, एमाले माओवादीको सहकार्य लामो समय टिक्न सकेन् । प्रधानमन्त्री चयनका बेला बनेको एमाले माओवादी गठबन्धन राष्ट्रपति निर्वाचनमा टुट्यो ।

तत्कालीन अवस्थामा प्रधानमन्त्री र उपराष्ट्रपति माओवादीले लिने राष्ट्रपति र सभामुख एमालेले लिने सहमतिलाई माओवादी केन्द्रले पालना गरेन । एमालेको हातबाट सत्ता र राष्ट्रपति दुवै गुम्यो भने माओवादीले सत्ता जोगाएपनि उपराष्ट्रपति जोगाउन सकेन ।

राष्ट्रपति निर्वाचनमा कांग्रेसँग मिलेर एमालेलाई धोका दिएको भन्दै प्रचण्ड र माओवादीसँग एमाले नेताहरु रुष्ट बनेका थिए । एमालेले प्रचण्डले धोका दिएको आरोप लगाएपनि प्रधानमन्त्री प्रचण्डले भने एमालेलाई विभिन्न अवसरमा सदासयता नै देखाउँदै आएका छन् ।

प्रतिनिधि सभामा रहेका संसदीय समितिका सभापति चयन गर्नेबेला पनि प्रचण्डले नै सदासयता देखाउँदै एमालेलाई तीन समितिको नेतृत्व दिलाएका थिए भने सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्त गर्दासमेत एमालेलाई समेटेका छन् । यता एमाले नेताहरु पनि पछिल्लो समय माओवादी पार्टी र प्रधानमन्त्रीसँग नरम देखिँदै आएका छन् ।

बिहीबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा पनि प्रचण्ड एमालेलाई समेटेर जाने पक्षमा थिए । तर, एमालेले सत्ता गठबन्धनसँग ६ सिट दावी गरेपछि सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले नमानेपछि प्रचण्डको प्रयासले सार्थकर्ता पाउन सकेन । राष्ट्रिय सभा निर्वाचनमा सहकार्य सम्भव नभएपनि एमाले र माओवादीबीच आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्ने समझदारी बनेको स्रोतको दाबी छ ।

असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा गत साता युगाण्डा जानुअघि पनि प्रधानमन्त्री प्रचण्डले एमालेसँग निर्णायक छलफल गर्न पार्टीबाट आफ्ना विशेष दूत खटाएको स्रोतको दाबी छ । एमाले र माओवादी दुवै दलमा यसअघिका गल्ती र कमिकमजोरी भुलेर पुनः नयाँ शिराबाट सत्ता सहकार्य अगाडि बढाउनुपर्ने आवाज बलियो बनेको छ ।

प्रधानमन्त्री प्रचण्ड युडाण्डा भ्रमणबाट फर्किएकै भोलिपल्ट पनि एमाले नेता र प्रचण्डबीच सिंहदरबारमा लामो छलफल भएको थियो । एमालेले मंसिरमा गरेको समृद्धिका लागि संकल्प यात्राका क्रममा समेटिएको सुझाव बुझाउन सिंहदरबार पुगेका एमाले अध्यक्ष ओलीसँग् प्रचण्डले करिब १ घण्टा गोप्य वार्ता गरेको स्रोतको दाबी छ । उक्त वार्तामा यसअघिका घटनालाई निर्मम ढंगले समीक्षा गरेर पार्टी एकता नै गर्नेसम्मको छलफल भएको बताइएको छ ।

यता राष्ट्रिय सभा निर्वाचन सम्पन्न भईसकेपछि राष्ट्रिय सभाको नयाँ अध्यक्षलाई लिएर सत्ता गठबन्धनमा दावी सुरु भएको छ । आगामी फागुन २० गतेबाट हालका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बिदा हुँदैछन् । उनी अध्यक्षबाट बिदा भएसँगै नयाँ अध्यक्ष चयन गर्नुपर्ने हुन्छ । हालसम्म अध्यक्षका लागि माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले दाबी गर्दै आएका छन् । कांग्रेसबाट राष्ट्रिय सभामा अध्यक्ष बन्नकै लागि कृष्ण सिटौला राष्ट्रिय सभामा गएको देखिन्छ भने माओवादीले पनि आफ्नो दाबी शसक्त बनाउँदै लगेको छ ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो दाबी नछाडे एमालेसँग मिलेर आफ्नो दललाई जिताउने रणनीति माओवादीले बनाएको स्रोतको दाबी छ । यदि त्यस्तो भएको खण्डमा राष्ट्रपति निर्वाचनमा टुटेको एमाले माओवादी गठबन्धन राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा जोडिने देखिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖