• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

चैत–वैशाखमा हिमपहिरो र मुसलधारे वर्षाको खतरा


  • धनकुटा खबर
  • .

यस वर्ष हिउँ नपर्दा पश्चिमी हिन्दकुश हिमालय क्षेत्रका टाकुरा नांगा बनेका छन्। हिमालमा पर्याप्त हिउँ नपर्दा तल्लो तटीय क्षेत्रमा कृषि उत्पादनमा समेत प्रभाव पार्ने देखिएको छ।

पश्चिमी हिन्दकुश हिमालय क्षेत्रमा अक्टोबर अथवा नोभेम्बरदेखि सुरु भएर मार्चसम्म हिउँ पर्ने गरेकामा यो वर्ष त्यस्तो नभएकोे बुधबार अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले जनाएको छ।

यो वर्षको हिउँद सरदरभन्दा बढी न्यानो भएकाले हिउँ नपरेको आकलन इसिमोडको छ। हिमपातमा ह्रास आउँदा गर्मीयाममा हिउँ पग्लेर नदी–खोलामा पानीको आपूर्ति हुने प्रक्रिया बिथोलिने र यसले अन्ततः कृषिका लागि चाहिने पानीको मात्रा घट्ने इसिमोडको अनुमान छ। ‘फेब्रुअरी र मार्चमा हिउँ परे पनि यसअघिको घाटालाई पूर्ति गर्न सम्भव देखिँदैन,’ इसिमोडका क्रायोस्फेयर विज्ञ सेभर मुहम्मदले भने।

पर्वतीय क्षेत्रमा हिउँ जनजीविकाको प्रमुख स्रोत रहेको इसिमोडले जनाएको छ। हिउँले बालीनालीका जरा पलाउन सहयोग गर्ने, तुसारो पर्न रोक्ने र माटाको क्षयीकरण रोक्न सहयोग गर्छ।

तर यो हिउँदमा पर्याप्त मात्रामा हिउँ नपर्दा पानी तथा कृषि वनसहित पारिस्थितिकीय प्रणालीसमेत प्रभावित हुने इसिमोडले जनाएको छ। हिन्दकुश हिमालय क्षेत्रका पर्वतीय समुदाय बालीनालीमा ह्रास, घरपालुवा पशुको मृत्यु, प्राकृतिक विपद्ले मानवीय र भौतिक क्षति हुँदा मनौवैज्ञानिक तनाव बेहोर्न बाध्य बनेको इसिमोडको ठहर छ।

इसिमोडका अनुसार यो वर्ष हुम्लाको लिमी उपत्यकामा समयअगाबै अर्थात् सेप्टेम्बरमा एकपटक हिमपात भएको थियो तर त्यसपछि हिउँ परेको छैन। यसैगरी पाकिस्तानको हुन्जा क्षेत्रमा हिउँदमा पटकपटक बाक्लो हिउँ पर्ने गरेकामा यो वर्ष एकपटक पनि हिमपात भएको छैन। विश्वव्यापी रूपमा तापमानमा वृद्धिसँगै सिर्जित जलवायु संकटका कारण क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा मौसम प्रणाली बिथोलिएको मत वैज्ञानिकहरूको छ।

इसिमोडका वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ अरूण श्रेष्ठ हिउँद सुक्खा हुँदा वसन्त क्रृतुमा भारी हिमपात भई हिउँपहिरो र मुसलधारे वर्षा निम्तिन सक्ने बताउँछन्। ‘पृथ्वीको सरदर तापक्रम वृद्धि १.५ डिग्री हुनसक्ने वर्तमान सन्दर्भमा यसले हिमालय क्षेत्रका बासिन्दालाई पार्ने नकारात्मक असरबाट जोगाउन तत्काल ठोस कार्य गर्न जरुरी छ,’ श्रेष्ठ भन्छन्।

यसैगरी मेडिटेरियन, क्यास्पियन तथा ब्ल्याक सीबाट सुरु भएर इरान, इराक, अफगानिस्तान पार गरी पश्चिमी क्षेत्रबाट हिन्दकुश हिमालय क्षेत्रमा आउने मौसमी प्रणाली अर्थात् वेस्टर्न डिस्ट्रवेन्सले पनि हिउँदमा कृषिका लागि आवश्यक पर्ने पानीको आपूर्तिमा प्रभाव पार्ने गरेको इसिमोडले जनाएको छ।

हिन्दकुश हिमालय क्षेत्रका नदीमा पानी आपूर्तिका लागि वेस्र्टन डिस्ट्रवेन्सले सहयोगी भूमिका निर्वाह गर्ने मानिन्छ। यिनै हिमनदी अन्ततः यो क्षेत्रमा बग्ने गंगा, इन्दुज, ब्रह्मपुत्रजस्ता ठुला नदी र हजारौं खोलाका पानीका स्रोत हुन्।

इसिमोडका अनुसार यो क्षेत्रमा पछिल्ला वर्षमा मनसुन लम्बिँदै गएर भीषण वर्षा हुन थालेको छ। गत मनसुनमा नेपाल, सिक्किम र भुटानमा भीषण बाढी आएको थियो। यसअघि हिमपात हुने क्षेत्रमा लगातार वर्षा हुन थालेको इसिमोडले जनाएको छ।

‘यो क्षेत्रको मौसमी प्रणालीका विषयमा अझै धेरै तथ्यांकको अभाव (डाटा ग्याप) छ तर उपलब्ध तथ्यांकको अत्यधिक उपयोग पनि उत्तिकै आवश्यक छ। भविष्यमा हुने जोखिमबाट बच्न तत्काल ठोस प्रयास जरुरी छ,’ इमिसोडले भनेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖