• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

भिजिट भिसाले चिसिएको सम्बन्ध : विमानस्थलमा अध्यागमन–प्रहरी टकराव


  • धनकुटा खबर
  • .

काठमाडौ । भिजिट भिसाको विषयलाई लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच सम्बन्ध चिसिएका वेला दुई पक्षबीच शुक्रबार कुटाकुट नै भएको छ ।

अध्यागमनका कर्मचारी ड्युटी सकेर फर्कन लागेका वेला चेकजाँचको विषयलाई लिएर विवाद हुँदा कुटाकुट भएको हो । प्रहरीले अध्यागमन अधिकृत छायालाल मोक्तानलाई कुटपिट गरेको र अध्यागमन प्रमुख गोगनकुमार हमालमाथि समेत दुर्व्यवहार गरेको अध्यागमन कार्यालयले जनाएको छ । प्रहरीले भने सुरुमा अध्यागमन कर्मचारीले हात हालेको दाबी गरेको छ । घटनाको विषयमा गृह मन्त्रालयले छानबिन समिति बनाएको छ ।

गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको नेतृत्वमा छानबिन समिति बनेको हो । समितिमा नेपाल प्रहरीका डिआइजी राजेश बाँस्तोला र गृह मन्त्रालयका उपसचिव कुलबहादुर जिसी सदस्य छन् । ड्युटीबाट फर्कन लागेका कर्मचारीमाथि प्रहरीले खानतलासी लिन लागेपछि विवाद सुरु भएको थियो । कर्मचारीले आफूहरूमाथि किन खानतालासी गर्न लागेको भन्दै प्रहरीलाई असहयोग गरेका थिए । त्यही क्रममा प्रहरीमाथि गाली गलौज भएको र विवाद बढेपछि हानाहान भएको थियो । सिसिटिभी भिडियोमा पनि दुवै पक्षबाट हानाहान भएको देखिएको छ ।

अध्यागमन कार्यालयले गृह मन्त्रालयमा पठाएको विवरणअनुसार सुरुमा प्रहरी जवान रविरञ्जन गुप्ताले अश्लील शब्द प्रयोग गरी गाली गरेका थिए । पछि असइ सञ्जय तामाङलगायत प्रहरीले लछारपछार गरी कुटपिट गरेका हुन् । सो विषयमा सिसिटिभी मोनिटर रुममा अध्यागमन अधिकारी र प्रहरीले भिडियो हेर्ने क्रममा फेरि विवाद भएको थियो ।

त्यहाँ डिएसपी रेवतीरमण पोखरेल, इन्स्पेक्टर मधुसूदन विकसहितका प्रहरीले फेरि ढोका बन्द गरी अध्यागमन प्रमुख गोगनकुमार हमाललगायतमाथि फेरि कुटपिट गरेको भन्दै अध्यागमनले उनीहरूमाथि समेत कारबाहीको माग राखी मन्त्रालयलाई पत्राचार गरेको छ । छानबिन समितिको प्रतिवेदनका आधारमा दोषी देखिएकामाथि कारबाही हुने गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई बताउँछन् ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖