• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

डेढ महिना अत्तो थापेपछि राष्ट्रपतिले संसदको महासचिवमा पाण्डेलाई नै नियुक्त गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका महासचिवमा पदमप्रसाद पाण्डेलाई नियुक्ति गर्ने तयारी गरेका छन्। राष्ट्रपतिले केही दिनभित्रै पाण्डेलाई महासविचमा नियुक्त गर्ने तयारी गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

यसअघि महासचिवमा प्रस्ताव गरिएका पाण्डेको सिफारिस ‘त्रुत्रिपूर्ण’ भन्दै नियुक्तिमा अत्तो थापेका राष्ट्रपतिले अन्ततः उनै पाण्डेलाई महासविचमा नियुक्ति गर्ने भएका हुन्।

‘अब चाँडै महासविचमा सिफारिस हुनुभएका पाण्डेलाई राष्ट्रपतिज्यूले नियुक्त गर्नुहुन्छ,’ राष्ट्रपति निटक स्रोतले डिसी नेपालसँग भन्यो।

तर राष्ट्रपतिले सिफारिस भएका दिनदेखि नभइ, नियुक्त गरेका मितिदेखि कार्यान्वयन हुनेगरी पाण्डेलाई महासचिवमा नियुक्ति गर्ने तयारी भएको हो।

यसअघि शितलनिवासले पाण्डेको सिफारिसलाई प्रक्रिया नमिलेको भन्दै दुईवटा तर्क दिएको थियो। पहिलो, महासचिव गौतमको राजीनामा स्वीकृत नभएको तर्क। शितलनिवासका अनुसार गौतमले राजीनामा बुझाउँदा राष्ट्रपति अर्कै काममा व्यस्त थिए।

त्यसैले कार्यालय समयमा उनले राजीनामा स्वीकृत गर्न पाएनन्। भोलिपल्ट कार्यालय समय सुरु नहुँदै अर्का महासचिवको नियुक्तिको सिफारिस आइसकेकोले गौतमको राजीनामा स्वीकृत भइसकेको थिएन।

तर यो विषयमा धेरै विवाद गर्दा राष्ट्रपति विवादमा पर्न सक्ने देखिएपछि महासचिवमा सिफारिस भएका पाण्डेलाई नै महासचिवमा नियुक्ति गर्ने तयारीमा राष्ट्रपति पौडेल पुगेका हुन्।

‘यसअघि प्रक्रिया नपुगेको हुनाले उहाँको नियुक्तिमा बिलम्ब भएको हो। त्यसमा पनि उहाँका विषयमा (सिफारिस भएका पाण्डे) विभिन्न विषय पनि सार्वजनिक भएका थिए,’ राष्ट्रपति निकट स्रोतले भन्यो, ‘तर संविधानको धारा १०६ अनुसार राष्ट्रपतिले उहाँलाई नियुक्ति गर्नुको विकल्प नभएका कारण अब चाँडै उहाँ महासचिव नियुक्त हुनुहुन्छ।’

यसअघि आफूले भन्दै आएको प्रक्रिया नपुगेको भन्ने विषयलाई सिफारिस भएका मितिदेखि नभइ नियुक्ति गरिएको दिनदेखि लागूहुने गरी भन्ने शब्द थप्ने तयारी भएको छ।

महासचिवमा सिफारिस गरेको दुई महिना पूरा हुन लाग्दासमेत राष्ट्रपतिले महासचिव नियुक्त नगरेपछि केही दिन अगाडि सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई स्मरणपत्र नै पठाएका थिए। जसका कारण राष्ट्रपति र सभामुखबीचको सम्बन्धमा चिसोपना आएको थियो।

राष्ट्रपति पौडेलले माघ १ गते राष्ट्रपति कार्यालयमा आयोजित चियापान कार्यक्रममा राष्ट्रपति पौडेल, सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाबीच छुट्टै छलफल भएको थियो। सो छलफलपछि राष्ट्रपति पौडेल महासचिवमा सिफारिस भएका पाण्डेलाई नियुक्त गर्न तयार भएको स्रोतको दाबी छ।

‘संविधानले तोकेको अधिकार भन्दा बाहिर जाने कुरा आउँदैन, उहाँको नियुक्ति केही पहिला पनि हुन सक्थ्यो। तर राष्ट्रियसभा निर्वाचन भएका कारण चुनाव पछि गरौं भन्ने भयो,’ शितलनिवास स्रोत भन्छ, ‘अब यो विषयमा धेरै विवाद गर्नुहुन्न भन्ने भएपछि महासचिवमा सिफारिस भएका पाण्डेलाई नै केही दिनभित्रै नियुक्ति भएको दिनदेखि लागू हुने गरी भनेर नियुक्त गर्ने तयारी भएको छ।’

राष्ट्रपतिलाई पाण्डेका दुई वटा नागरिकता भएको सार्वजनिक भएपछि नियुक्त नगर्न दबाव आएपनि त्यो आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै राष्ट्रपति पौडेलले पाण्डेलाई नियुक्त गर्ने तयारी गरेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖