नेपालका गाउँघरमा बाँदर आतंक बढ्दै गएको छ । बाँदर नियन्त्रणका लागि मानिसहरूले विभिन्न उपाय खोजिरहेका छन् । केही दिनअघि पोखरा महानगरका एक वडाध्यक्षले बाँदर नियन्त्रण गर्न रुख काट्ने अभियान नै चलाउन आह्ववान गरेका थिए । यद्यपि त्यसको व्यापक आलोचना भएपछि रोकिएको छ ।
बाँदर आतंक अहिले राष्ट्रिय मुद्दा बनेको छ । संसदीय समितिमा समेत यसबारे छलफल चलिसकेको छ ।
यसै क्रममा बाँदर नियन्त्रणको अवलोकन गर्न नेपाली सांसदहरूको टोली भारत जाँदैछ । बाँदरलाई बन्ध्याकरण गरेर नियन्त्रण गरिरहेको भारतीय अभ्यास अवलोकन गर्न सांसदहरू भारत भ्रमणमा जान लागेका छन् ।
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरूसँगै भारत भ्रमण टोलीमा टोलीमा केही पशु चिकित्सकसमेत रहनेछन् ।
टोलीले बाँदरको संख्या नियन्त्रण गर्न अध्ययन गर्नेछ । यसका लागि टोली भारतको हिमाञ्चल प्रदेश जानेछ ।
नेपाली सांसदहरूको टोली भारत जाने चर्चा भारतीय सञ्चार माध्यममा समेत हुन थालेको छ । भारतीय सञ्चार माध्यम ‘जनसत्ता’ले नेपालमा बाँदर नियन्त्रण गर्न भारतले सहयोग गर्ने भनेर समाचार प्रकाशित गरेको छ ।
जनसत्ताले समाचारको शीर्षक नै’बंदरों के आतंक से नेपाल को चीन नही भारत दिलाएगा मुक्ति’ राखेको छ । तर, समाचारमा भने चीनको कुनै प्रशंग उल्लेख छैन।
