• Friday 16th of October 2026

राम्रो अनुसन्धान भए औंलामा गन्न सकिने नेता मात्र बाँकी रहन्छन् : रवि लामिछाने


  • धनकुटा खबर
  • .

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा राम्ररी अनुसन्धान गर्ने हो भने अहिलेका अधिकांश नेता जेल पर्ने दावी गरेका छन् ।

अर्घाखाँचीको सन्धिखर्कमा शनिबार पार्टीले गरेको आमसभालाई सम्बोधन गर्दै लामिछानेले अहिले सेटिङ मिलाउन नसक्नेहरुमात्रै जेल गएको टिप्पणी गरे ।

‘छातीमा आँट भएको मान्छेले अनुसन्धान गर्ने हो भने औंलामा गन्न मिल्ने नेता पनि बच्दैनन् यो देशमा म तपाईंलाई ग्यारेन्टीका साथ भन्न चाहन्छु’, रविले भने ।

पुराना दलहरुबाट देश परिवर्तन होला भनेर वर्षौंदेखि कुरे पनि उनीहरु भागबन्डा र सेटिङमा लागेकाले जनताले विकल्प खोजेको लामिछानेले बताए ।

अब हुने चुनावमा रास्वपालाई वहुमत दिएमा देशलाई एक नम्बर बनाउने दावी गर्दै उनले बनाउन नसके राजनीति नगर्ने बताए । अहिलेको सरकार भ्रष्ट र बेथितिको चाङ बोकेको हुंदा पुरै कार्यकालसम्म बोक्ने कि नबोक्ने भन्ने प्रश्न उठेकाले जुनसुकै बेला हुने चुनावमा बहुमत पाउने गरी पार्टी अघि बढेको लामिछानेको भनाइ छ ।

‘हामी र्‍याल सिंगान चुहिन्जेल राजनीति गर्दैनौं, अब एक कार्यकाल एक्लै बहुमतका लागि जनतालाई अपिल गर्छौं, बहुमत पाएर पनि देशमा सुशासन र परिवर्तन दिन नसके राजनीति गर्दैनौं’, लामिछानेले भने, ‘दुई कार्यकाल मात्र राजनीति गर्ने हो ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा अर्घाखाँचीबाट निर्वाचित सांसद तथा एमालेका सचिव टोपबहादुर रायमाझी पुर्पक्षका लागि थुनामा रहेका कारण निलम्बित अवस्थामा छन् । लामिछानेले अहिले अर्घाखाँची जनप्रतिनिधिविहीन भएको टिप्पणी गर्दै यो जिल्लाको आवाज पनि आफ्नो पार्टीले संसदमा उठाउने बताए ।

गएको निर्वाचनमा आफू र आफ्नो दलविरुद्ध सत्ता गठबन्धन नै लागेपनि ५ महिनाको छोटो अवधिमै चौथो शक्ति भएको भन्दै लामिछानेले अबको चुनावमा पहिलो शक्ति बन्ने दोहोर्‍याए ।

अहिलेको सरकारले विभिन्न भ्रष्टाचार र अनियमितताका काण्डमा सुरूसुरूमा काम गरेजस्तो गर्ने तर टुंगो नलाग्दै राजनीतिक दबाबमा ढाकछोप गरेको उनको आरोप लगाए ।

राजनीतिमा अब युवा हस्तक्षेपको आवश्यकता रहेको भन्दै उनले इमान्दारको हातमा राजनीति जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको बताए ।

रास्वपाकी सांसद सुमना श्रेष्ठले देश गरिबी, अशिक्षा र कुशासनमा फसेकाले आउँदो पुस्ताको भविष्यमाथि प्रश्न उठ्न थालेको बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖