काठमाण्डौ – बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा निजी बनाएको आरोपमा पक्राउ परेका उद्यमी अरुण चौधरीले कानुन विपरीत लिएको पाइएमा जग्गा फिर्ता गर्न तयार रहेको बयान दिएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पक्राउ परेका उद्यमी चौधरीको बयान लिन शुरू गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाण्डौका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरूले बयान लिइरहेका छन् । बयानका क्रममा उद्यमी चौधरीले कानुन विपरीत लिएको पाइएमा जग्गा फिर्ता गर्न तयार रहेको बताएका एक अनुसन्धान अधिकृतलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएको छ ।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले कानुनी प्रक्रियाअन्तर्गत नै बयान लिन काम भइरहेको बताउनुभयो । जिल्ला अदालत, काठमाण्डौले चार दिन हिरातमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाले त्यहीअनुसार, अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा कानुन विपरीत निजी स्वामित्वमा लगेको आरोपमा सीआईबीले अस्ति बिहीवार उद्यमी चौधरीलाई पक्राउ गरेको थियो । उनीसँगै छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र सीजी जाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुर पनि पक्राउ परेका छन् ।
व्यवसायीहरूको संस्था नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य संघले हतारमा चौधरीलाई पक्राउ गरेको भन्दै विरोध जनाएको थियो । सीआईबीले हिजो पत्रकार सम्मेलन गरेर चौधरीलाई हतारमा नभइ तीन महिना लामो अनुसन्धान र पर्याप्त प्रमाण भेटिएपछि पक्राउ गरेको स्पष्टीकरण दिएको छ ।
