• Friday 16th of October 2026

रूसी सेनामा रहेका ७० बढी नेपाली सम्पर्कविहीन


  • धनकुटा खबर
  • .

काठमाडौं । रूसी सेनामा भर्ती भएका ७० जनाभन्दा बढी नेपाली सम्पर्कविहीन अवस्थामा रहेका छन् । नेपालमा रहेका आफन्तले उनीहरूको अवस्था बुझिदिन रूसी सेनामा भर्ती भएका अन्य नेपालीसँग अनुरोध गरेका छन् ।

“रूसी सेनामा आवद्ध भएर दुई÷तीन महिनादेखी सम्पर्कमा नरहेका नेपाली दाजुभाइका ७० भन्दा वढी परिवारजनले आफ्नो मान्छेको अवस्थावारे केही बुझिदिनुपर्‍यो भनेर फोटो, डकुमेन्ट, म्यासेज पठाई रहनुभएको छ,” रूसी सेनामा कार्यरत नेपाली डाइमण्ड सी म्याग्देलीले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

उनले रूसी सेनामा भर्ती भई केही महिनादेखि सम्पर्कविहीन बनेका नेपालीका परिवारलाई नआत्तिन आग्रह गरेका छन् ।

बंकरमा ड्युटी पर्नेहरु तीन महिनासम्म फोन तथा इन्टरनेटको पहुँचमा नहुने उनले जनाएका छन् ।

आफैँ पनि एकहप्ता युद्ध, फेरि रिट्रिट, रिफ्रेस ट्रेनिङ फेरि युद्ध यस्तै व्यस्ततामा रहने हुँदा सबैलाई एक–एक जवाफ दिन नसकेको उनले बताएका छन् ।

“कतिपय जङ्गल ईलाकामा बंकरमा ड्युटी पर्नेहरू रिप्लेस नहुँदासम्म २ देखी ३ महिना फोन÷इन्टरनेटको पहुँचमा हुँदैनन् । मोबाइल लैजान पाइँदैन । मोबाइल एलो जोनमा छाडेर जानुपर्छ । रिप्लेस भएर फर्केपछि मात्रै फेरि सम्पर्कमा जोडिने अवस्था हुन्छ । तसर्थ नआत्तिनु होला । वारमा जानेको हकमा चाहीँ बढीमा एक महिना सम्पर्कविहिन भयो भने घाइते/अपांग, हताहती वा दुश्मनको कब्जामासमेत पर्न सक्ने अवस्था हुन्छ,” म्याग्देलीले भनेका छन् ।

युद्धबाट अत्तालिएर भाग्न खोज्दा गिरफ्तार भएर केहि समय सम्पर्कविहीन हुने अवस्था पनि हुने उनले बताएका छन् ।

उनी थप स्पष्ट पार्छन्, “कहिलेकाहीँ माइन विस्फोट वा वमवार्डमा कमाण्डरसहित सिंगै युनिट हताहत भयो भने खोजिकार्य, सनाखत र रिपोर्टिङमा ढिलाई हँुदा सम्वन्धित परिवारलाई सूचित गर्न विलम्ब भएको देखिन्छ ।”

लामो समयदेखि सम्पर्कविहीन भएकाहरूको अवस्थाबारे जानकारी दिन सम्बन्धित इकाइमा रिपोर्टिङ आफूले गरेको उनले जनाएका छन् ।
केहीको अवस्थाबारे बुझेर सम्बन्धित परिवारलाई सूचना दिइसकेको समेत उनले उल्लेख गरेका छन् ।

रूसले अवैध तरिकाले नेपालीलाई आफ्नो सेनामा भर्ती गरी युक्रेनसँगको युद्धमा पठाउने गरेको छ । नेपाल सरकारले पटक–पटक नेपालीलाई भर्ना नलिन र लिएकाहरूलाई फिर्ता पठाउन गरेको आग्रहलाई रुसले बेवास्ता गर्दै आएको छ ।

हालसम्म रूसी सेनामा भर्ती भएकामध्ये युक्रेनसँगको युद्धमा १४ जना नेपाली मारिएको औपचारिक जानकारी रूसले नेपाललाई दिएको छ । रूसी सेनाबाट लड्दै गर्दा चारजना नेपालीलाई युक्रेनले नियन्त्रणमा लिई युद्धबन्दी बनाई राखेको छ ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागमा रूसी सेनामा भर्ती भएका १५० जनाभन्दा बढीका आफन्तले उनीहरुलाई फिर्ता ल्याउन अनुरोध गरी आवेदन दिएका छन् । नेपाली युवाहरू विभिन्न एजेन्ट तथा दलालको प्रलोभनमा परी सात लाख रुपैयाँभन्दा बढी रकम बुझाई रूसी सेनामा भर्ती हुन जाने गरेका छन् ।

पछिल्ला साता सरकारले रूस जानेमाथि यसैकारण कडाई गर्न पनि सुरू गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖