काठमाडौं । सरकारी जग्गा हिनामिनाको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीन जनामाथिको अनुसन्धान नसकिएपछि भोलि म्याद थप गरिने भएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार पक्राउ परेका चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई थप हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिने भएको हो ।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा निजी बनाएको आरोप लागेका सञ्जय ठाकुरविरुद्ध ४३ जना स्थानीयले ठगीको जाहेरी दिएका छन् । सार्वजनिक जग्गा हड्पिएको भन्दै ४३ जना स्थानीय बासिन्दाले बाँसबारीस्थित काठमाडौं महानगरपालिका ३ कार्यालयमा निवेदन दिएका थिए ।
सोही निवेदन वडा कार्यालयले सीआईबीमा पठाएपछि ठगी र किर्तेमा अनुसन्धान अघि बढेको हो । तर चौधरीले हड्पेको भनिएको जग्गा फिर्ता गराएर मुद्दा नचलाउने गरी राजनीतिक दबाब परेको छ ।
जग्गा फिर्ता गराए पनि मुद्दामा जाने प्रहरीको तयारी छ । ठगीमा स्थानीय बासिन्दाले जाहेरी दिएको र सरकारी जग्गा हडप्न किर्ते गरेको देखिएकाले त्यसमा अनुसन्धानपछि कानुनी प्रक्रियामा जानै पर्ने सीआईबीको अडान छ ।
