• Friday 16th of October 2026

युक्रेनी सेनाले बन्धक बनाएका आफन्तलाई २ लाख दिए नेपाल ल्याइदिने भन्दै ठगी


  • धनकुटा खबर
  • .

काठमाडौं। अध्ययनका लागि रुस पुगेर युक्रेनी सेनाले बन्धक बनाएका विद्यार्थीका आफन्तलाई ठगेको आरोपमा एक व्यक्ती पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले काभ्रेको पाँचखाल स्थायी घर भएका २५ वर्षीय अञ्जन बराललाई पक्राउ गरेको हो।

बरालले २ लाख रुपैयाँ दिए ती विद्यार्थीलाई नेपाल ल्याउने भनेर एक लाख ४० हजार रुपैयाँ हात पारेपछि मोबाइल स्विच अफ गरेर बेपत्ता भएको पीडितको आरोप छ।

पीडितका अनुसार आफूले युक्रेनी सेनामा चिनेको मान्छे छ भन्दै विश्वास दिलाएर बरालले ठगेका थिए। बराल सम्पर्कविहीन भएपछि आफूहरू ठगिएको थाहा पाएको पीडितले उल्लेख गरेका छन्। जाहेरवालाले उजुरी गर्नुअघि नै बराल प्रहरीको नियन्त्रणमा पुगिसकेका थिए। उनलाई अर्कै ठगी अभियोगमा प्रहरीले पक्राउ गरेको थियो।

३ करोड ५० लाखको नक्कली भौचर पठाएर ३ लाख ५० हजार झ्वाम्म
बराललाई ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। युनिक कन्स्ट्रक्सन नाम गरेको कम्पनीका सञ्चालकलाई ३ करोड ५० लाख रुपैयाँ ऋण दिने तर ब्याजबापतको ३ लाख ५० हजार रुपैयाँ अग्रिम दिनुपर्ने बताएर बरालले ठगी गरेको प्रहरीले जनाएको छ।

उनले ३ करोड ५० लाख रुपैयाँ जम्मा गरेको नक्कली बैंक भौचर पठाएर ३ लाख ५० हजार रुपैयाँ पठाउन लगाएका थिए। वर्षको एक प्रतिशत बराबरको ब्याज पठाएपछि पठाउने भनेको पैसा खातामा नदेखेपछि पीडितले प्रहरीमा उजुरी गरेका हुन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖