पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारीका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दीपेश पुनसहित १८ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका छन् ।
दर्ता भइनसकेको उक्त जाहेरीमा रास्वपा सभापति लामिछाने, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका अखिल क्रान्तिकारीका महासचिव दिपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियल स्टेट, गोर्खा ग्रुप इन्भेस्टेन्ट, गोर्खा आयुर्वेद प्रालिलगायतलाई विपक्षी बनाएका छन् । उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।
सहकारीपीडितले आइतबार नै जाहेरी दर्ता गराउन चाहेका थिए । तर कास्की प्रहरीले ुसूचना दिनुस्, पुरक जाहेरी दर्ता गरिरहनु पर्दैनु भनेरर उनीहरूलाई फर्काइदिएको थियो ।
सूर्यदर्शन सहकारीका बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ अपचलन गरेर सहकारीका पूर्वअध्यक्ष गितेन्द्र (जीबी) राईसहित दर्जनौँ व्यक्ति अहिले फरार छन् ।
