• Friday 16th of October 2026

कोशीमा मिल्यो भागबन्डा, मन्त्रिपरिषद् विस्तार बुधबार हुने


  • धनकुटा खबर
  • .

काठमाडौं,२३ माघ । सरकार गठनको लामो समयसम्म पनि पूर्णता दिन नसकेको आरोप खेप्दै आएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सरकार विस्तारको तयारीमा जुटेका छन् ।

सत्तारुढ दलबीच लामो समयको छलफलपछि सरकरा विस्तारको टुंगो लागेको हो । दलहरुबीच भएको सहमति अनुसार अब कोशी सरकारमा कांग्रेस र नेकपा माओवादीबाट २-२ जना मन्त्री थपिनेछन् भने कांग्रेसले थप एक राज्यमन्त्री पनि पाउनेछ ।

माओवादीका तर्फबाट उदयपुरबाट निर्वाचित नारायण बुर्जा मगर र संखुवासभाका राजेन्द्र कार्की मन्त्री बन्ने भएका छन्। कार्की तत्कालीन उद्धव थापा नेतृत्वको मन्त्रीमण्डलमा पनि मन्त्री बनेका थिए। उनी गत असार २४ गते मन्त्री बने थिए। कार्कीले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय पाउने बुझिएको छ। बुर्जामगरले भने त्यसबेला मन्त्री बन्न नपाएको भन्दै सामाजिक सञ्जालमा गुनासो पोखेका थिए। यसपालि मन्त्री बन्न लागेका मगरले सामाजिक विकास मन्त्रालय हाँक्ने भएका छन्।

यता, नेपाली कांग्रेसबाट प्रदीपकुमार सुनुवार र रामकुमार खत्री मन्त्री बन्ने भएका छन्। कांग्रेसकी ईन्दिरा थापालाई राज्यमन्त्री बनाउने मुख्यमन्त्री कार्कीको तयारी छ। प्रदीपले उद्योग, कृषि तथा सहकारी मन्त्रालय पाउने बुझिएको छ भने खत्रीले आर्थिक मामिला तथा योजना मन्त्रालय चलाउने छन्। स्वास्थ्य मन्त्रालय पनि कांग्रेसले नै लिने तयारी छ। स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीका रूपमा कांग्रेसकी थापा रहने पक्काजस्तै छ। स्वास्थ्य मन्त्रालय जसपाकी एक्ली सांसदलाई दिइने मुख्यमन्त्री कार्कीको योजाना थियो। तर जसपाले तत्काल सरकारमा नजाने अडान लिएपछि यो मन्त्रालय कांग्रेसकै भागमा परेको हो।

यसैबीच दलहरुबीच कुरा मिलेपनि आज मन्त्रिपरिषद् विस्तार भने नहुने भएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री केशबकुमार बुढाथोकीको निधन भएको हुँदा आज सरकार विस्तार नहुने मुख्यमन्त्री निकट स्रोतले जनाएको छ । मुख्यमन्त्री कार्कीले बुधबार सरकार विस्तार गर्ने बताईएको छ ।

कार्की गत असोज २७ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । एमालेको समर्थनमा मुख्यमन्त्री बनेपनि कार्की नेतृत्वको सरकारमा एमाले सहभागी छैन् । यद्यपि एमालेले समर्थन भने जारी राखेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖