• Friday 16th of October 2026

कारागारको शौचालयमा बन्दी मृत फेला


  • धनकुटा खबर
  • .

राजविराज : बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देबेन्द्र मण्डल आइतबार बिहान मृत अवस्थामा फेला परेका छन्। मण्डलको शव कारागारभित्र शौचालयमा झुण्डिएको अवस्थामा बिहान फेला परेको राजविराज कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिए।

१५ वर्षीया बालिकालाई गत साउन १३ गते राति अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा बन्दी थिए।बालिकालाई घरबाट जबरजस्ती तानेर पाँच सय मिटर पूर्व पोखरीको डिलमा लगेर बलात्कार गरेको भन्दै पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए। हनुमाननगर कंकालिनी नगरपालिका–६ का २३ वर्षीय देवनाथ मण्डल, २३ वर्षीय श्यामसुन्दर मण्डल र २० वर्षीया जसोधा कुमारी मण्डलले हातखुट्टा समातेपछि देबेन्द्रले बालिकाको सिउँदोमा सिन्दुर हालेर बलात्कार गरेको पीडितका बुवाले बताएका थिए।

जिल्ला प्रहरी कार्यालयले मण्डललाई साउन १७ गते पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालयमा साउन १८ गते बलात्कारको उजुरी दर्ता भएकोमा सप्तरी जिल्ला अदालतमा भदौ १० गते अभियोग पत्र दायर भएको थियो। जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले मण्डल भदौ ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए। फैसला हुन बाँकी थियो।

पासोमा झुण्डिएर आत्महत्या गरेका मण्डलको परिवारलाई घटना थाहा पाएलगत्तै कारागारले जानकारी दिएको र उनका परिवारका सदस्यहरु आएपछि शवको मुचुल्का गरिने निमित्त कारागार प्रशासक सदानन्द दासले बताए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖