• Friday 16th of October 2026

गिरीबन्धु प्रकरणः ओलीभन्दा अघिल्लो सरकारले ७० विघा जग्गा विना निर्णय सट्टापट्टामा दिएको एमाले सचिवको आरोप


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ माघ । नेकपा (एमाले) का सचिव एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले गिरीबन्धु टि स्टेटको जग्गा सट्टापट्टाको सुरुवाता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालाभन्दा पहिलादेखिनै सुरु भएको दाबी गरेका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओलीभन्दा अघिल्लो सरकारले ७० विघा जग्गा विना निर्णय सट्टापट्टामा दिएको फेला परेपछि तत्कालीन सरकारले निर्णय गराएर विधिसम्मत तरिकाले दिएको बताएका हुन् । अघिल्लो सरकारमाथि कुनै पनि प्रश्न नउठाएर केपी ओली नेतृत्वको तत्कालीन सरकारमाथि निरन्तर प्रहार भइरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

‘जतिबेला यो निर्णय गरियो, विना निर्णय ७० विघा जग्गा पहिलाको सरकारले सट्टापट्टा गरिसकेको रहेछ । यो विना निर्णय गर्नुभन्दा, त्यो मनोपोलीबाट गर्नुभन्दा विधि पुर्याएर गरोस् भनेर एमालेले त विधि पुर्याएर दिएको हो । गलत काम गर्यो, भ्रष्टाचार गर्यो, त्यो अदालतले भन्न मिल्दैन । न्यायपालिकाका आफ्नै प्रक्रिया छन्, न्यायपालिकाका निर्णय हामी मान्छौं । केपी ओलीमाथि आरोप लगाइँदैछ, त्यो भन्दा पहिलाको सरकारका बारेमा तपाईँहरु किन कुरा गर्नुहुन्न ?’ उनले प्रश्न गरे ।

तत्कालीन ओली नेतृत्वको सरकारले र अघिल्लो सरकारले कति–कति विघि जग्गा सट्टापट्टाको निर्णय गर्यो भनेर छानविन गर्न उनले चुनौति दिए । ‘छानविन गरौं न । केपी ओली सरकारले कति विघा जग्गा सट्टापट्टा गर्यो ? देउवा–प्रचण्डकको सरकारले कति विघा जग्गा सट्टापट्टा गर्यो ? त्यो त छानविनबाट थाहा हुन्छ नि । खाली केपी ओलीको सरकारले गिरीबन्धुमा यसो गर्यो, उसो गर्यो भन्नुको कुनै अर्थ छ र ?’ उनले प्रश्न गरे ।

सर्वोच्च अदालतले गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी रहेको जग्गा अन्यत्र सट्टापट्टा गर्ने मन्त्रिपरिषद्को निर्णय बदर बदर गरेको थियो । तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारले २०७८ वैशाख १३ गते गिरीबन्धु टि स्टेट प्रा.लि.लाई ३४३–१९–१२ बिगाहा जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।

ओली नेतृत्वको सरकारभन्दा अघिल्लो सरकार स्वर्गीय सुशील कोइरालाको नेतृत्वमा रहेको थियो । एमाले सचिव महासेठले उनीमाथि ७० विघा जग्गा सट्टापट्टा गरेको आरोप लगाएका हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖