काठमाण्डाै – क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनीको आठ करोड ५० लाख रुपैयाँभन्दा धेरै कर्जा दुरुपयोग मुद्दामा दोषी ठहर भएका काभ्रेको पनौतीका रामभक्त थापा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थापालाई आज काठमाण्डौबाट पक्राउ गरेको हो । क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारेर उनले काभ्रे ब्रोइलर सप्लायर्स प्राइभेट फर्मका फर्जी कागजात तयार गरी आठ करोड पचास लाख रुपैयाँ कर्जा लिएका थिए ।
उनले कर्जाको दुरुपयोग गरेर क्यापिटल मर्चेन्ट तथा फाइनान्सलाई नौ करोड सात लाख रुपैयाँभन्दा धेरै रकम नोक्सानी पुर्याएकाे साविकको पुनरावेदन अदालत पाटनले फैसला गरेको थियो ।
२०७१ सालको वैशाख २९ गते अदालतले रामभक्त थापालाई बैंकिङ कसुर तथा सजाय ऐनअनुसार तीन वर्ष कैद र बिगो असुल गरी बिगोअनुसार जरिबाना हुने फैसला गरेकाे थियो । सजाय र जरिबानाबाट बच्न फरार भएका थापालाई पक्राउ गरेर फैसला कार्यान्वयन गर्न काठमाण्डाै जिल्ला अदालतमा पेस गरेको सीआईबीले जनाएको छ ।
