• Friday 16th of October 2026

बालिका छोरीसँग एउटै कोठामा भेटेपछि युवकको हत्या


  • धनकुटा खबर
  • .

मृतक भीष्म भण्डारी र प्रहरीले सार्वजनिक गरेको हत्यामा संलग्नहरु
दोलखा।

झन्डै डेढ महिना अघि मृत फेला परेका दोलखा शैलुङ गाउँपालिका वडा नम्बर– ४ मागापौवाका १८ वर्षीय युवकको हत्या मृतकको प्रेमीकाको परिवारले गरेको खुलेको छ ।

गाउँकै एउटा मेलामा चिनजान भएको १६ वर्षीय दलित बालिकासँग मृतक १८ वर्षीय भीष्म भण्डारीको प्रेम सम्बन्ध बनेको थियो । भण्डारीलाई आफ्नो छोरीसँग एउटै कोठामा भेटेपछि बालिकाको बुबा पुष्कर नेपाली, काका ईश्वर दर्जी र नेपाली सेनामा कार्यरत दाजु विशाल नेपालीले धारिलो हतियार प्रहार गरी बीभत्स हत्या गरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताए।

गत पुस ११ गते हत्या गरिएको मृतक भीष्म भण्डारीको बीभत्स शव पुस १६ गते भेटिएको थियो । मृतकको टाउको छुट्टाइएको, नाक काटेको, औला छिनेको अवस्थामा शव फेला परेको थियो ।

पुस १६ गते शव भेटिएपछि दोलखा प्रहरीले बागमती प्रदेश प्रहरी र सिआईबिको समेत सहयोगमा अनुसन्धान सुरु गरेको थियो । सो क्रममा माघको पहिलो साता बालिकाको बुबा, काका, दाजु लगायतलाई पक्राउ गरी सोधपुछ गरेको थियो ।

भीष्म भण्डारीलाई बालिका छोरीसँग एउटै कोठामा भेटेपछि बुबा लगायतले उनलाई घरबाट निकालेर छोरीलाई घरभित्रै चुक्कुल लगाई थुनेका थिए । सो क्रममा मृतक भण्डारीले प्रेमीकाको बुबा पुष्कर र काका इश्वरसंग विवाद गरेपछि काका ईश्वरले घरबाट धारिलो हतियार ल्याई भीष्ममाथि प्रहार गरेको प्रहरी नायव उपरीक्षक खड्काले बताए।

धारिलो हतियारको प्रहारबाट घाइते भएका भिष्मलाई केही पर धारामा लगेर बालिकाको बुबा पुष्कर र ईश्वरले टाउको गिडेका थिए । त्यसरी भण्डारीको बीभत्स हत्या गरेपछि बालिकाको बुबा पुष्कर र काका ईश्वरले बालिकाको दाजु विशालको समेत सहयोगमा शव नजिकको बजिनीको खोल्सामा फालिदिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । टाउको गिँडेपछि बालिकाको बुबा पुष्करले मृतकको शरीर बोकेको र काका ईश्वरले टाउको बोकेर विशाल समेतको सहयोगमा बजिनीको खोल्सामा लगेर फालेका थिए ।

आइतबार दोलखा प्रहरीले हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरेको छ । उनीहरुलाई सोमवार अदालत पेस गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖