• Friday 16th of October 2026

भ्रष्टाचार प्रकरणमा मुछिएका निलम्बित सचिव मरासिनी साधारण तारिखमा रिहा


  • धनकुटा खबर
  • .

काठमाडौँ — राष्ट्रिय सूचना प्रविधि केन्द्रका लागि उपकरण खरिद गर्दा भएको भ्रष्टाचार प्रकरणमा मुछिएका निलम्बित सचिव मधुकुमार मरासिनी साधारण तारिखमा रिहा भएका छन् । विशेष अदालतले आइतबार मरासिनीलाई साधारण तारिखमा छाडेको हो ।

नेसनल पेमेन्ट गेटवेको उपकरण खरिद प्रकरणमा मरासिनीसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज १५ विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा दायर हुँदा मरासिनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव थिए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक रहेका सुनील पौडेल केन्द्रको कार्यकारी निर्देशक छँदा उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको थियो । त्यही खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा पौडेल र मरासिनीसहित ९ जनालाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गरेको हो । यो प्रकरणमा अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख (सहसचिव) हुँदा प्रक्रिया मिचेर नेसनल पेमेन्ट गेटवेको उपकरण खरिदका लागि बजेट छुट्याएको अभियोग अख्तियारले मरासिनीमाथि लगाएको थियो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले आइतबारको थुनछेक बहसपछि मरासिनीलाई साधारण तारिखमा छाडिएको बताए । मरासिनी मुद्दा दायर भएको साढे चार महिनापछि आइतबार अदालतमा उपस्थित भएका थिए ।-कान्तिपुर

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖