• Friday 16th of October 2026

ताप्लेजुङमा मुर्रा राँगा , सिंगाे गाउपालिकामा एउटै राँगा…


  • धनकुटा खबर
  • .

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा उन्नत जातको मुर्रा राँगा ल्याइएको छ। जिल्लामै पहिलोपटक यहाँको मैवाखोला गाउँपालिकाले उन्नत जातको मुर्रा राँगा (भैँसी) ल्याएको हो। मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुमा उक्त मुर्रा जातको राँगा ल्याइएको हो। ढुङ्गेसाँघुका वडाध्यक्ष चन्द्रकुमार तामाङका अनुसार चालू आर्थिक वर्षका लागि गाउँपालिकाबाट विनियोजित रकम र किसानसमेतको साझेदारीमा मुर्रा राँगा ल्याइएको हो। किसानको २५ प्रतिशत र बाँकी वडा कार्यालयको गरी कुल एक लाख ५० रुपियाँमा एउटा राँगा खरिद गरिएको वडाध्यक्ष तामाङले बताउनुभयो।

उहाँकाअनुसार सुनसरीस्थित तरहरा भैँसी अनुसन्धान केन्द्रबाट मुर्रा राँगा खरिद गरिएको हो। उन्नत जातको मुर्रा राँगा गाउँसम्म ल्याई पुर्‍याएसँगै ढुङ्गेसाँघुस्थित साँझ–बिहानी कृषि तथा पशुपन्छी फर्मका सञ्चालक दिनेश वनेमलाई आइतबार हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो।

किसानले पाल्दै आएको भैँसीको नश्लसुधार साथै दुध उत्पादनमा वृद्धि गरी उनीहरूको जीवनस्तर उकास्नमा सहयोग पुर्‍याउने उद्देश्य राखेर उन्नत जातको मुर्रा राँगा ल्याएको वडाध्यक्ष तामाङको भनाइ छ। उहाँले गाउँमा मुर्रा राँगा ल्याएकाले स्थानीय किसान पशुपालन व्यवसायप्रति थप प्रेरित भएको पनि बताउनुभयो। उन्नत जातको राँगाका कारण भैँसीको नश्लसुधार भएर दुध उत्पादन बढ्ने र पशुपालनबाट राम्रो आम्दानी हुने अपेक्षा किसानले राखेका छन्।

यता मैवाखोला गाउँपालिकाले उन्नत जातको मुर्रा राँगा ल्याएपछि जिल्लामा यसको चर्चा सुरु भएको छ। मुर्रा राँगाबाट स्थानीय जातको भैँसीको नश्लसुधारका लागि प्रभावकारी साथै यहाँको वातावरण मुर्राका लागि सहज हुने–नहुने विषयमा चर्चा र चासो हुन थालेको हो। यसअघि छिमेकी देश भारतले नेपाललाई उपहारस्वरुप दिएको १५ वटा उन्नत जातका मुर्रा राँगाको चर्चाले देशभर व्यापकता पाएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖