काठमाडौं। रुकुमका स्थायी बासिन्दा रामचन्द्र खड्का आजकै दिनदेखि २०५२ सालमा माओवादीले सुरु गरेको जनयुद्धमा सहभागी भएपछि फेरि अर्को देशमा आफ्नो जीविकोपार्जनका लागि लडेर घाइते भएर स्वदेश फर्कनुपर्ला भन्ने सोचेका थिएनन्।हाल तलसीपुर उपमहानगरपालिका-१९ बिजौरी दाङमा जीवन निर्वाहका लागि कृषिकर्म गर्दै आइरहेका उनलाई माओवादीले सुरु गरेको जनयुद्धले पारेको प्रभावले आकर्षित गरेपछि दशवर्षे जनयुद्धमा सामेल भएका थिए।
कृषिकर्मबाट सोचेजस्तो लाभ नभएपछि उनले युद्धकालमा सिकेको सिपलाई उपयोग गर्न रसियन सेनामा भर्ना भएका उनी युके्रेनविरुद्धको लडाइमा घाइते भएर लामो समय रुसमै उपचाररत रहेर अहिले स्वदेश फर्किएका छन्।
रोल्पा रुकुममा तत्कालीन माओवादीका आश्वासन मुलुक बदल्ने संकल्पबाट प्रभावित हुँदै सर्वहारा वर्गको राज्यसंस्था स्थापना गर्ने संकल्पका साथ उनी पनि सोही युद्धमा सहभागी भएर सैन्य क्षेत्रमा प्रवेश गरे।
माओवादी जनयुद्धले मुलुकलाई रुपान्तरण गर्ने र आम मान्छेको राज्यमा पहँच हुने अपेक्षा उनको पनि थियो। सोही अपेक्षा लिएर उनी जनयुद्धमा जनमुक्ति सेनामा सामेल भएर थुप्रै युद्ध लड्न पुगे।
परिवर्तन आफ्नो वर्गको हितकर व्यवस्था ल्याउने अपेक्षा लिएर जनयुद्धमा होमिएका उनी सो युद्धले कतिपयको अवस्थामा परिवर्तन आयो। तर खड्का जस्ता हजारौंलाई भने रोजीरोटीको समस्याले अनेकौं जोखिमपूर्ण काम गर्ने बाध्यात्मक अवस्थामा आज पुर्यायो।
अहिले उनी जनयुद्धको २९ औं वर्षगाँठ मनाइरहँदा रुसी सेनामा भर्ना भएर घाइते शरीर लिएर नेपाल फर्किएका छन्। हाल उनका सुप्रिमो पुष्पकमल दाहाल प्रचण्डले मुलुकको नेतृत्व गरिरहेका छन्।
साम्यवादी सपना देखाएर रामचन्द्र जस्ता अनेकौं युवाहरुलाई युद्धको बलिभेदीमा पुर्याएका दाहाल अहिले तेस्रो कार्यकालमा प्रधानमन्त्रीको पदमा विराजमान छन्।
यता रामचन्द्र जस्ता उनका पूर्वलडाकु भने जीवनयापनका लागि रसियन युद्ध स्थलमा ज्यानको परवाह नगरेरै युद्धमोर्चामा खटिएर फर्किएका छन्। अझै कतिपय पूर्वलडाकु युद्धभूमिमै छन्।
केही समय अघि माओवादी जनयुद्धमा सामेल भएका पूर्वलडाकु म्याग्दी मंगला गाउँपालिका ४ का रमेश विक डायमण्डले रसिया पुगेर सामाजिक संजालमा मार्मिक स्टाटस सार्वजनिक गरेका थिए।
उनले हिजो मुलुक परिवर्तको लागि लडिएको र आज आर्थिक समस्याले परिवार पाल्न लेनिनको देशको सेना हुनुपरेकोमा कुनै गुनासो नभएको बताएका थिए।
माओवादी युद्धमा सामेल भएका खड्का र विक जस्ता हजारौं युवाहरु अहिले रसियन सेनामा भर्ना भएर युक्रेनविरुद्ध लडिरहेका छन्।
सार्वजनिक जानकारी अनुसार कतिपय नेपाली युक्रेनको सेनामा पनि भर्ना भएर रुसविरुद्ध लडिरहेका छन्।
माओवादी जनयुद्धको रापताप बढ्दै जाँदा खड्का र विकजस्ता हजारौं युवाहरु अनेकौं युद्धमोर्चामा सरिक भए, जीवन र मृत्युको बीचमा रहेर अनेकौं प्रलयकारी अवस्थाबाट संयोगवश सकुशल रहन सफल भए।
तर, आज जनयुद्धको शान्तिपूर्ण अवतरण भएको १७ वर्षपछि २९ औं वर्षगाँठ मनाइरहँदा जीविकोपार्जनका लागि रसियन सेनामा भर्ना भएर शरीरमा गोलीका छर्रा बोकेर खड्का नेपाल फर्किएका छन्।
रुस युक्रेन युद्धको क्रममा युक्रेनी भूमिमा उनलाई गोली लागेपछि लामो समय त्यहाँ उपचाररत रहेर नेपाल फर्किएका हुन्। उनी अहिले पनि नेपाल फर्किएर उपचारकै क्रममा रहेका छन्।
केही दिन अघि मात्रै राजधानी आएर उपचार गरेर दाङ फर्किउका उनले नियमित उपचारको लागि फेरि काठमाडौं आइराख्ुनपर्ने बाध्यता सुनाउँछन्। उनका अनुसार शरीरका विभिन्न भागमा लागेका गोलीका छर्रा कतिपय रसियामै निकालिएको र अझै कतिपय निकाल्न बाँकी रहेको छ।
सरकारी तथ्यांक अनुसार हालसम्म रुसी सेनामा रहेका १२ जना नेपालीको निधन भइसकेको छ भने ५ जना नेपाली युक्रेनको कब्जामा छन्। यद्यपि रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या सरकारी आकँडाभन्दा धेरै हुनसक्ने खड्काको अनुमान छ। तर आधिकारिक जानकारी नभएपनि त्यहाँ रहँदा थुप्रैसंख्यामा हाताहाति भएको खबर आफूले सुनेको उनी बताउँछन्।
उनले विगतको जनयुद्धको स्मरण गर्दै मुलुक परिवर्तनको महाअभियान भएकाले साथ दिएको बताउँछन्। तथापि अहिले सो आदर्श च्युत भएको उनको बुझाइ छ।
जीवननै युद्धमा व्यतित गरेकाले बाँकी जीवन पनि युद्धबाटै गुमाउनु परेपनि उनलाई कुनै गुनासो छैन।
उनले आफ्नो जीवनलाई नाफाको जीवनका रुपमा चित्रित गर्दै अझै पनि बाँकी जीवन मुलुकका लड्न तयार रहेको उनी चुनौती दिन्छन्।
उनी भन्छन्, ‘हिजो पनि मुलुककै लागि भनेर लडिएको हो। तर त्यसले केही नीतिगत परिवर्तन गरेपनि समग्र संरचनामा परिवर्त हुन सकेन। केहीलाई मात्र त्यसको लाभ लिने अवस्थामा पुर्यायो तर हाम्रो लडाइँ बहुसंख्यकको लागि केन्द्रित थियो।’
जनयुद्धमा लाग्दै गर्दा आफूले फेरि रोजगारीको लागि विदेशी भूमिमा युद्ध लड्नुपर्ला भनेर कल्पना नगरेको उनी स्मरण गर्दछन्।
खड्काले आज माओवादीले जनयुद्ध दिवस मनाउँदै गर्दा नेतृत्वलाई गर्व हुनुपर्नेमा ग्लानी हुने अवस्थामा पुर्याएको भन्दै यसको उपज माओवादी नेतृत्व रहेको भन्दै आक्रोश व्यक्त गर्छन्।
‘आज मुलकमा सबैको अपनत्व कायम समान सहभागीतामूलक व्यवस्थाका लागि लडेका योद्धाहरु विदेशी युद्धरत भूमिमा जीवन निर्वाहका लागि लड्नुपर्ने अवस्था के को उपज हो ?’, उनी प्रश्न गर्छन्।
आजको युवा पलायन र विदेशी युद्धभूमिमा नेपालीको मृत्युको कारक वर्तमान राज्यव्यवस्था भएको उनको ठहर छ। त्यसका लागि फेरि अर्को युद्ध र्गुपरे पनि तयार रहेको आत्मविश्वास उनी व्यक्त गर्छन्।
युद्धग्रस्त मुलुकमात्रै होइन, दैनिकजसो चार पाँच जनाको शव खाडी मुलकुबाट पनि आउने गरेको सुनाउँदै उनले यसको उपज वर्तमा राज्य सञ्चालक रहेको उनको तर्क छ।
‘जीवनको उर्जाशील समय स्वदेश होस् या विदेशमा युद्धमै बिताइयो। आज गण्तन्त्रका पहरेदार जनमुक्ति सेनालाई अवमूल्यन गरेर सत्तामा रजाइँ कतिपयले गरेका छन्।’, उनी भन्छन्,‘तर नेतृत्वलाई जीवन कुर्बानी गरेर त्यहा पुर्याउने जनमुक्ति सेना नै जीवन गुजार्न विदेशी भूमिमा लड्नपर्ने बिडम्बनापूर्ण अवस्थालाई किन गम्भीरतापूर्वक लिइँदैन।’
उनले अहिलेको परिवर्तनले सीमित राज्यको उपभोग गर्नेका लागि मात्रै श्रेयस्कर व्यवस्था रहेको बताउँदै आम नेपाली युवाको लागि कष्टप्रद रहेको औंल्याउँछन्।
उनले अहिले स्वदेशमा जीविकोपार्जन गर्ने अवस्था नभएर रसियन सेनामा पुगेर फर्किएका सम्पूर्ण युवाहरुलाई संर्गिठत गर्ने अभियानमा लागेको सुनाए।
उनले भने, ‘यो समस्या राज्यको अभिभावकहिनताले सिर्जित समस्या हो। त्यसैले नेपाल फर्किएकालाई संगठित गर्दै रसियामै रहेका नेपालीहरुको जीवन रक्षा र स्वदेशमै बस्ने वातावरण मिलाउन राज्यका ेध्यानाकर्षण गर्ने अभियानमा लागेका छौं।’
रसियन सेनाबाट फर्किएका सबैलाई संगठित र त्यहाँ रहेकाहरुको जीवन रक्षाको माग गर्दै गर्दै यो समस्यालाई समाधान गर्न राज्यलक्षित दबावमूलक कार्यक्रम सिर्जना गर्ने तयारीमा रहेको उनले जनाए।शरद रिजाल
