• Saturday 17th of October 2026

बालेनको प्रश्न : जनप्रतिनिधि आवरणमा दलका प्रतिनिधिबाट के आशा गर्ने ?


  • धनकुटा खबर
  • .

कर्मचारीलाई काठमाडौं महानगरपालिकाले गरेको कारबाहीलाई लिएर जनप्रतिनिधिले प्रश्न उठाएपछि मेयर बालेन्द्र साह आक्रोसित बनेका छन् ।

मंगलबार कार्यपालिका बैठकमा वडाध्यक्षहरूले कर्मचारीलाई स्पष्टीकरण सोध्ने अधिकार कसको हो ? सिधै मेयरले कारबाही गर्न मिल्छ ? भन्दै प्रश्न गरेका थिए ।

बैठकपछि सामाजिक सञ्जालमा मेयर साहले स्टाटस लेखे, ‘कर्मचारीबाट के गलत भएको हो भन्ने पनि थाहा छ, कर्मचारी स्वयंले ‘मैले गलत गरेको हो’ भनेर लिखितरूपमा स्वीकारेको पनि थाहा छ, यति हुँदाहुँदै पनि अब के गर्ने भनेर कार्यपालिकाबाट अगाडि बढ्न रोक्नुको अर्थ हो, वडाध्यक्षज्यूहरूको आफ्नो पार्टीको कर्मचारीलाई बचाउने खेल ।’

चोरभन्दा कसले खुट्टा तान्छ भन्ने जगजाहेर रहेको भन्दै उनले चोर भन्दा झस्किएर आफ्नो खुट्टा तान्नेप्रति शंका रहेको उनले बताए ।

‘प्रष्ट हुनुहोस्, गलत कृत्यलाई कारबाही गर्दा भ्रष्ट, कमिसनखोर कर्मचारीहरूको मात्रै हो मनोबल खस्किने । स्वच्छ कर्मचारीहरूको मनोबल झन् उँचो हुन्छ,’ मेयर साहले लेखेका छन्, ‘गलत काम गर्ने जो कोहीलाई पनि कारबाही गरिनुपर्छ भन्ने उच्च मनोबलका कर्मचारीहरूको काठमाडौं महानगरमा कमी छैन ।’

उनले आफ्ना पार्टीका कर्मचारीलाई जे गरे पनि बचाउन जुन हदसम्म पनि जान सक्ने जनप्रतिनिधिहरूले साँच्चै स्थानीय सरकारको मर्म आत्मसाथ गर्न सकेको कसरी मान्ने ? भन्दै प्रश्न गरेका छन् ।

‘जनप्रतिनिधिको आवरणमा कांग्रेस, एमाले र माओवादीका पार्टी प्रतिनिधि रहेको किन नभन्ने ? यस्तो गलत प्रवृत्तिले बन्छ त काठमाडौं ?,’ उनले प्रश्न गरेका छन् ।

जनप्रतिनिधिहरूले जनताबाट म्यान्डेट लिएर आउने र कर्मचारी संविधान, ऐनकानुनको सीमामा बसेर जनप्रतिनिधिहरूलाई सहयोग गर्ने उनले बताए ।

यो सम्बन्धलाई विश्वास र कानुनको पालनाले बलियो बनाउने भन्दै उनले ‘जति भ्रष्ट भए पनि कर्मचारीले फाइल मिलाएर बचाइदिन्छन्, नेताले ढाकछोप गरिदिन्छन्’ भन्ने विचलनले सुधार नहुने बताए ।

‘स्वीकारी स्वीकारी गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिंगो पार्टी लाग्छ भने योभन्दा बिडम्बना अर्को के हुन्छ ? आशा गर्छु, कार्यपालिकामा छलफलका लागि ल्याइएको प्रस्ताव नै देखाएर एकलौटी निर्णय हो भन्दा लाज मान्ने जनप्रतिनिधि देशभरि आउन्,’ उनले लेखेका छन्, ‘गलत गरिहालेछ, आफ्नै पार्टीको पर्‍यो, छोडिदिनुहोस् भन्ने खालका जनप्रतिनिधिहरू कहीँकतै नदेखिउन् ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖