• Saturday 17th of October 2026

राप्रपामा भित्रिने त के उनीहरूसँग अब वार्ता पनि हुँदैन: दुर्गा प्रसाईं


  • धनकुटा खबर
  • .

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानका नाममा कार्यक्रम गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग वार्ता नहुने घोषणा गरेका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले राप्रपासँग अब वार्ता नहुने बताए।
‘दुर्गा प्रसाईं राप्रपामा भित्रिन्छ भन्ने कुरा यो कल्पनादेखि बाहिरको हो,’ प्रसाईंले भने, ‘म एमालेको केन्द्रीय सदस्य छँदै छ नि! राप्रपामाभन्दा अलिकति गतिलो पार्टी हो नि त।’

उनले आफूले अभियानमा राप्रपाका मानिससमेत नल्याउने बताए।
‘राप्रपाका मानिस त म ल्याउँदिनँ, राप्रपामा भित्रने कुरै छाडिदिनुस्,’ प्रसाईंले भने, ‘रोटी साँधेर खानेहरूको के कुरा गर्नुहुन्छ। हिजो बिहान आएर हात मिलाए, दिउँसो आउँछु भने, आएनन्। उनीहरूको के कुरा गर्ने?’

प्रसाईंले मंगलबार भृकुटीमण्डपमा कार्यक्रम गर्नुअघि भक्तपुरस्थित एक रिसोर्टमा राप्रपा महामन्त्री राणालगायतसँग छलफल गरेका थिए। सोमबार पनि प्रसाईंले सोही रिसोर्टमा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका थिए।

छलफलपछि राप्रपा महामन्त्री राणाले आफूहरू एक ठाउँमा उभिएले राप्रपा कार्यकर्ताहरूलाई भृकुटीमण्डपको कार्यक्रममा सहभागी हुन अपिल गरेका थिए। तर मंगलबार भृकुटीमण्डपको कार्यक्रममा राप्रपाको साथ नपाएको गुनासो प्रसाईंको छ।

‘अघि बिहान वार्ता गर्ने कुरा गर्दै थिए, अब वार्ता नै हुँदैन,’ प्रसाईंले राप्रपालाई लक्षित गर्दै भने, ‘तिनीहरूसँग के छ र वार्ता गर्नू? उनीहरूले त यो आन्दोलन बिथोल्न खोजेका रहेछन्।’

प्रसाईंले राप्रपा, केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग के छ र वार्ता गर्ने भन्दै प्रश्नसमेत गरेका थिए। ‘दुर्गा प्रसाईं राप्रपामा जान्छ? त्योभन्दा त पार्टी खोल्नै परे राम्रो पार्टी बनाउँछु नि!’ उनले भने, ‘तर पार्टी मेरा लागि आवश्यक होइन, नागरिकका मुक्ति हो।’

प्रसाईंले पनि राजसंस्थाका मुद्दा उठाएकोले राप्रपाले ‘राजवादीलाई समेट्न’ खोजेको थियो। त्यसका लागि राप्रपा अध्यक्ष लिङ्देनले उपाध्यक्ष हेमजङ्ग गुरूङ र महामन्त्री धवलशमशेर राणा रहेको वार्ता समिति गठन गरेका थिए। उक्त समितिले मंगलबार भक्तपुरमा प्रसाईंसँग पहिलो चरणको वार्ता गरेको थियो।

प्रसाईंले बैंक तथा लघुवित्तका ऋण मिनाहा गरिदिने आश्वासन दिँदै देशका विभिन्न क्षेत्रका मानिसलाई काठमाडौं ल्याएर आन्दोलन गर्ने गरेका छन्। काठमाडौं कार्यक्रमका लागि मधेसलगायत ठाउँबाट आएका नागरिकलाई उनले घर फर्कन आग्रह गरेका छन्। उनले अब जिल्ला केन्द्रित आन्दोलन गरिने पनि बताएका छन्।

प्रसाईं‌ले २० लाख रूपैयाँभन्दा सानो सबै ऋण माफ गर्नुपर्ने माग पनि राखिरहेका छन्। तर उनीमाथि नै गत चैतदेखि बैंकको साँवा-ब्याज नतिरेको आरोप छ। प्रसाईंले आफूले मानिसहरूलाई अभियानमा जबरजस्ती नल्याएको पनि दाबी गरेका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖