• Saturday 17th of October 2026

कैलालीमा एमाले अधिवेशनले तात्यो माहोल : यी हुन् अध्यक्षका आकांक्षीहरु


  • धनकुटा खबर
  • .

काठमाडौं, फागुन ३ । नेकपा (एमाले) कैलाली जिल्लाको ९ औं जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते सुख्खडमा हुँदैछ। अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् ।

अधिवेशन नजिकिएसँगै जिल्लाको नेतृत्वका लागि नेताहरुको दौडधुप सुरु भैसकेको छ। माघ २७ गते प्रतिनिधि छनौटको काम सकिएको हुनाले कैलालीमा अधिवेशनको माहोल तातेको छ।

जिल्लाको नेतृत्व लिन खासगरी ३ जना नेताहरुको दौडधुप तीब्र बनेको छ। अनेरास्ववियुबाट आफ्नो राजनीति सुरु गरेका पूर्व प्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुंगाना यो रेसमा अग्रपङ्तिमा देखिएका छन् । शालिन स्वभाव,स्वच्छ छविका ढुंगाना कैलालीमा लोकप्रिय नेताका रुपमा स्थापित छन् । उनलाई पार्टीको संस्थापन लाइनका नेताहरुको समर्थन रहेको बुझिएको छ।

त्यसैगरी जिल्लाको नेतृत्व लिन वर्तमान कार्यवाहक अध्यक्ष दुर्गा प्रसाद जोशीको पनि दौडधुप तीब्र बनेको छ। खासगरी उनले सहमतिय नेतृत्व लिनलाई इच्छा देखाएको बुझिएको छ। आफू कार्यवाहक अध्यक्ष भएकोले स्वतः अध्यक्ष हुनुपर्ने माग राख्दै आएका छन् । अध्यक्षका उम्मेदवार जोशीले सहमति हुँदामात्र आफू अध्यक्ष हुने तर निर्वाचनमा गए आफू सहभागी नभै अर्का उम्मेदवार ढुंगानालाई समर्थन गर्ने जनाएका छन् ।

जिल्ला अध्यक्षका लागि अर्का आकांक्षी हुन् वर्तमान सचिव डेजी पाण्डे । अनेरास्ववियुबाट आफ्नो राजनीति सुरु गरेका पाण्डेले आफू अध्यक्ष हुनुपर्ने भन्दै आफ्नो सक्रियता बढाएका छन् । केन्द्रीय सदस्य झपट रावलका विश्वासपात्र मानिने पाण्डेको समर्थनमा पार्टीको पूर्व उपाध्यक्ष भीम रावल समूह पनि रहेको छ। भीम रावल समुहले आफ्नो गुमेको साखलाई फर्काउने माध्यमका रुपमा कैलाली जिल्ला अधिवेशनलाई लिएको छ । भीम रावल मार्फत केन्द्रिय सदस्य झपट रावलले पाण्डेलाई नै अध्यक्ष बनाउनुपर्ने भन्दै विभिन्न कोणबाट जिल्लामा छलफल चलाएका छन् । जिल्लामा नेकपा एसमा रहेका नेताहरुले पनि डेजी पाण्डेलाई अध्यक्ष बनाउनुपर्छ भन्दै चासो देखाएका छन् ।

एमाले कैलालीको अधिवेशन यो पटक रोचक बन्ने देखिएको छ। हाल ३ जना उम्मेदवार देखिएपनि अन्तिममा २ मात्र उम्मेदवार हुने माहोल बन्दै गएको छ। पार्टी संस्थापनको तर्फबाट यज्ञराज ढुंगानाको उम्मेदवारी पक्का छ। उनका पक्षमा अधिकांश प्रतिनिधिहरु रहेका देखिन्छन्। अर्कातिर एमालेका १० बुँदे समूहको नेतृत्व अन्तिममा डेजी पाण्डेले गर्ने देखिएको छ। यदि सहमति नजुटी यस्तो अवस्थामा निर्वाचन भए पार्टी अध्यक्ष केपी शर्मा ओलीको पनि सदासयता ढुंगानाप्रति जाने देखिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖