• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

फोहोर टिप्ने बहनामा काठमाडौँमा करोड बराबरको चोरी, पाँच जना भारतीय पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । फोहोर टिप्ने बहनामा काठमाडौँको विभिन्न स्थानबाट करिब एक करोड रुपैयाँ बराबरको धनमाल चोरी गरेको आरोपमा प्रहरीले पाँच जना भारतीयलाई पक्राउ गरेको छ । गत माघ २८ गते गोकर्णेश्वर नगरपालिका–४ मकलबारीस्थित दिलमाया आले मगरको घरमा चोरी भएको थियो ।

दिउँसोको समयमा घरमा कोही नभएको मौका पारी घरको ढोका फुटाएर भित्र प्रवेश गरी सुनका विभिन्न गरगहना र नगद गरी ६५ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा भारतको समस्तीपुर घर भएका लक्का भन्ने विकास पोदार, सोही स्थान घर भएका ४० वर्षीय सञ्जय पोदार, ५० वर्षीया मञ्जुदेवी पोदार, बेगुसरा घर भएका २८ वर्षीय जितेन्द्र पोदार र वैशाली घर भएका २७ वर्षीय भाइलाल पोदार रहेका छन् ।

उनीहरू काठमाडौँको तिलगंगा बस्दै आएका थिए । उनीहरुलाई फागुन २ गते जडीबुडीबाट पक्राउ गर्न प्रहरी सफल भएको थियो ।

अनुसन्धान गर्दै गर्दा यो समूहले यसअघि पनि विभिन्न स्थानमा चोरी गर्ने गरेको खुलेको थियो । उपरीक्षक रेग्मीका अनुसार उनीहरूले यसअघि माघ २४ गते काठमाडौँकै दिनेश घिमिरेको घरबाट सुन र नगद गरी २५ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए । त्यस्तै, माघ २८ गते गोकणेश्वरमा गीता राईको घरबाट ४ लाख १० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको पनि खुलेको छ । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖