रौतहट- भारतीय सिमानासँग जोडिएको रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिकामा दुइटा मन्दिरमा आगजनी गरेको घटना नसेलाउँदै अर्को घटना भएको छ । त्यहाँ सरस्वती माताको मूर्ति सेलाउन जाने क्रममा बिहीबार आक्रमण हुँदा एक जनाको टाउको फुटेको छ भने कैयौँलाई चोटपटक लागेको छ । ईशनाथ-५ जटहरा गाउँबाट सरस्वतीको मूर्ति लिएर डुमरिया गाउँ छेउ अडुवा नदीमा सेलाउन जाने क्रममा दिउँसो २ बजे मोतीपुर गाउँमा मुस्लिम समुदायका मानिसले अचानक ढुंगामुढा प्रहार गर्दा स्थानीय नरेश पासवानको टाउको फुटेको तथा अन्य कैयौँलाई चोटपटक लागेको छ ।
सरस्वती माताको मूर्ति लिएर दर्जनौँको संख्यामा गइरहेको हिन्दु समुदायका मानिसमाथि एक्कासि ढुंगामुढा प्रहारसँगै मुस्लिम समुदायका मानिसले खुर्सानीको धूलो आँखामा फालेको प्रत्यक्षदर्शीले स्थानीय बाबुलाल साहले बताए । आक्रमणका क्रममा त्यहाँ उपस्थित रहेका प्रहरी मूकदर्शक बनेको उनको भनाइ छ । घटनाको खबर लगत्तै रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठ घटनास्थल पुगेका छन् ।
हाल हिन्दु समुदायका मानिस मूर्ति बाटोमा राखेर प्रदर्शनमा उत्रिएका छन् । एसपी श्रेष्ठसहितको टोली घटनाको छानबिनसँगै साम्य पार्न पहल गरिरहेको त्यहाँ पुगेका जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् । घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ । केही दिनअघि मात्र त्यहाँ एकैरात हनुमान मन्दिर र ब्रह्मस्थानमा आगजनी भएको थियो ।
रौतहट संसदीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत दुर्गा पूजा, सरस्वती पूजा, विश्वकर्मा पूजा, महाबिरी झन्डाको विसर्जनको क्रममा बर्सेनि एकपक्षीय आक्रमण हुँदै आएको स्थानीयले बताएका छन् । पूजा विसर्जनको समय प्रत्येक वर्ष ठूलो संख्यामा प्रहरी परिचालन गरिए पनि पूर्ण रूपमा शान्ति हुनसकेको देखिँदैन ।
