• Saturday 17th of October 2026

ऋण नतिरेपछि शिखर सुजलाई प्रभु बैंकले गर्यो लिलाम,चर्चित ब्रान्डको भयो अवसान


  • धनकुटा खबर
  • .

काठमाडौं। शिखर सुज इन्डष्ट्रिजले ऋण नतिरेपछि प्रभु बैंकलले लिलामी गर्न लागेको छ। शिखर सुजले तत्कालिन सेन्चुरी कमर्सियल बैंक (प्रभु बैंकमा समाहित) बाट लिएको ऋण नतिरेपछि प्रभुले असूलीका लागि लिलामीको सूचना निकालेको हो।

प्रभु बैंकले शिखर सुजका अतिरित्त मारुती सु इन्डष्ट्रिज, न्यू आर एन्ड एस ट्रेडिङ, फूटवयेर टे«डिङ प्रालि र मारुती पोलिमर्स इन्डष्ट्रिज प्रालिको लिलाम गरेर सबै ऋण असूली प्रक्रिया अघि बढाएको छ। यि सबै कम्पनी व्यवसायी रामकृष्ण प्रसाईंका हुन्। उनका सबै कम्पनीहरु अहिले बन्द छन्। शिखर सुज बन्द भएको झण्डै एक दशक भइसकेको छ। आर एन्ड एस ट्रेडिङ प्रसाईंको व्यापार कम्पनी थियो।

बैंकले उद्योगको नाममा काठमाडौंमा रहेको उद्योगको घरजग्गा लिलाम गरी बैंकको सावाँ तथा ब्याज असुल गर्ने जानकारी दिएको छ। बैंकले काठमाडौंको गोलढुङमा रहेको जग्गा लिलाम गर्न लागेको हो। पटक पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि ऋणीले कर्जा तिर्न उलंघन गरेपछि असूलीका लागि लिलाम गर्न खोजेको बैंकले जनाएको छ।

बैंकले गत असारमा पनि शिखर सुजको नाममा रहेको जग्गा लिलामीको प्रक्रिया अघि बढाएको थियो। त्यसबेला जग्गा बिक्री नभएकाले ऋण असूली नभएको बैंकले जनाएको छ। २०७७ असोजमा सेन्चुरीले ३५ दिने सूचना निकालेको थियो। त्यसबेला पनि जग्गा बिक्री नभएर रोकिएको थियो।

रामकृष्णले विराटनगरमा जुक्ता तथा चप्पल उत्पादन गर्न नयाँ प्लान्ट स्थापना गर्न तत्कालिन सेन्चुरी हालको प्रभु बैंकबाट ४० करोड रुपैयाँ ऋण लिएका थिए। यही ऋणले उनलाई डुबाएको छ। एक दशक औसत चलेको उद्योगले २०६२ पछि राम्रो व्यापार गरेको थियो। शिखर २०७० सम्म लोकप्रिय ब्रान्डका रुपमा स्थापित भएको थियो।

भारत निर्यात गर्न प्रसाईंको योजनाले डुबायो

भारत निकासी गर्न शिखर सुजले २०७२ मा विराटनगरान प्लान्ट स्थापना गरेको थियो। उद्योग २०७३ वैशाखभित्रै सञ्चालनमा आउने बताइएको थियो।

शिखरका सञ्चालक प्रसाईंले त्यतिबेला भारतमा नेपाली जुत्ताको माग बढेपछि विराटनगरमा प्लान्ट लगाएको जानकारी दिएका थिए। प्रभु बैकका अनुसार सन् २०१६ मा ४० करोड रुपैयाँ लगानीमा विराटनगरमा मारुती सु इन्डष्ट्रिज सञ्चालनमा ल्याएका थिए।

शिखरले बन्द अवस्थामा रहेको टंकीसिनावरीमा रहेको मारुती सुज इन्ड्रस्ट्रिज किनेर आफ्नै ब्रान्डमा जुत्तारचप्पल बजारमा ल्याउन लागेको थियो। कम्पनीले प्याकेजिङका सामाग्री उत्पादन गर्न मारुती पोलिमर प्राइभेट लिमिटेड समेत किनेको थियो।

ग्लोबल आईएमई बैंकमा रहेको ऋण सकारेर प्रसाई्ंले त्यतिबेला १० करोड रुपैयाँमा मारुती पोलिमर उद्योग किनेका हुन्।उनको भारत निर्यात गर्ने योजना सफल हुन सकेन र अन्ततः उद्योग बन्द हुनुपुग्यो।

शिखर सुजको कारखाना काठमाडौंको गोलढुंगामा छ । दैनिक पाँच हजार जुत्ता उत्पादन गर्ने क्षमता छ। शिखरको जुक्ताको माग अधिक थियो। शिखरले मासिक ८० हजार जोरसम्म जुत्ताचप्पल बिक्री गरेको थियो।

उद्योगले २०५२ सालबाट शिखर ब्रान्डमा जुत्ता उत्पादन थालेको हो। २०५२ सालमा प्रसाईंले २ लाख ५० हजारको लागतमा शिखर सुज इन्डष्ट्रिज खोलेका थिए। शिखर सुजले त्यसबेला ५ सय भन्दा बढीलाई रोजगारी दिएको थियो। शिखर त्यसबेला मुलुककै अग्रणी जुत्ता उत्पादन गर्ने उद्योग बनेको थियो ।-सुनौलो नेपालबाट

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖