• Saturday 17th of October 2026

दुई दिदीबहिनीलाई ठक्कर दिएर मृत्यु भएपछि २६ लाख क्षतिपूर्ति तिरे चालकले


  • धनकुटा खबर
  • .

रुपन्देही । दुई दिदीबहिनी सवार साइकललाई आफूले चलाएको गाडी ठक्कर दिएर मृत्यु भएपछि चालकले उनीहरूको परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको छ ।

दाङको देउखुरीमा दुई दिनअघि साइकलमा सवार दुई दिदीबहिनीलाई ठक्कर दिने न्यू प्लानेट इन्जिनियरिङ सर्भिसेस प्रालीको स्कारपियो चालक कैलाली निवासी ३२ वर्षीय इन्जिनियर चन्द्रदीप जोशीले घटनामा गल्ती स्वीकार्दै पीडित पक्षलाई क्षतिपूर्ति दिने सहमति भएको हो ।

बुधवार भएको घटनाको विषयमा बिहीबार दाङको भालुवाङमा रहेको इलाका प्रहरी कार्यालयमा पीडित पक्षसँग भएको वार्तामा चालक जोशीले कानुनअनुसार कारबाही भोग्न तयार रहेको बताएका छन्।

पीडित परिवारलाई क्षतिपूर्तिबापत दश–दश लाख रुपैयाँ र राधाका दुई बच्चाहरूको पठनपाठनका लागि पाँच लाख दिने सहमति भएको वार्तामा बसेका प्यूठानको झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलले जानकारी दिए ।

चालक जोशीले दुवै शव व्यवस्थापनका लागि लाग्ने खर्चसमेत बेहोर्ने पोख्रेलले बताए ।बुधवार दिउँसो राप्ती गाउँपालिका वडा नं ८ पिपरीमा स्कारपियो गाडीले साइकललाई ठक्कर दिँदा साइकल चालक प्यूठान झिमरुक गाउँपालिका–८ घर भई हाल राप्ती गाउँपालिका–८ निवासी ३५ वर्षीया राधा बस्नेतको घटना स्थलमा र साइकलको पछाडि बसेकी उनकी बहिनी १६ वर्षीया बिपना केसीको उपचारको क्रममा मृत्यु भएको थियो।

राधाका एक छोरा र छोरी छन् भने बिपनाको विवाह भएको छैन । घटनापछि पीडित पक्षले न्यायको लागि आवाज उठाएका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖