• Saturday 17th of October 2026

हिन्दूराज्य स्थापनाका लागि निर्णय गर्न देउवालाई बुझाए कांग्रेसका २२ नेताले हस्ताक्षर


  • धनकुटा खबर
  • .

काठमाडौं,४ फागुन । नेपाली कांग्रेसमा हिन्दु राज्य स्थापनाको माग बढ्दै गएको छ । कांग्रेसको आसन्न महासमिति बैठकलाई मध्यनजर गर्दै नेताहरुले हिन्दु राज्यको मुद्दालाई जोडतोडका साथ उठाउने तयारी गरेका छन् ।

पूर्व मन्त्री तथा वर्तमान सांसद शंकर भण्डारीको नेतृत्वको महाअभियानको घोषणा गरेर नेतृत्वलाई दवाव दिने कांग्रेसका नेताहरुको तयारी छ । यसैबीच आज कांग्रेसका भण्डारीसहितका २२ जना केन्द्रीय सदस्यहरुले पार्टी सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बुझाएका छन् ।

आज भण्डारीसति सांसद दीलेन्द्रप्रसाद बडू, सञ्जय गौतम भीम पराजूली,नागिना यादवलगायतका नेताहरुले देउवालाई हस्ताक्षर बुझाएका हुन् ।

‘पार्टीका महासमिति सदस्यहरूले धर्मनिरपेक्षताको विपक्षमा वैदिक सनातन हिन्दूराष्ट्र नेपाल कायम गर्न त्रिवेणी धाममा भएको महासमिति बैठकमा व्यापक हस्ताक्षरसहित जोडदार रूपमा माग राखेको र काठमाडौंमा सम्पन्न महासमितिको बैठकमा बहुमत महासमिति सदस्यहरूले सनातन हिन्दूराष्ट्रको माग गर्दै प्रस्ताव पेश गरेको ऐतिहासिक तथ्यलाई स्मरण गराउन चाहन्छौं,’ प्रस्तावमा भनिएको छ,’ यसर्थ ७ फागुनदेखि प्रारम्भ हुने महासमिति बैठकका सन्दर्भमा जारी कांग्रेसका केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत राजनीतिक दस्तावेजहरूमा वैदिक सनातन धर्मजस्तो बहुमत महासमिति सदस्यको भावना र आम नेपाली जनताको व्यापक चासो र चिन्ताको विषयलाई छलफलमा नल्याइएप्रति चिन्तित हुँदै हामी कांग्रेसका केन्द्रीय कार्यसमितिका सदस्यहरूले महासमितिको वैठकबाट छलफल गरेर सनातन हिन्दूराष्ट्रको पक्षमा पार्टी दृढतापूर्वक उभिन यो कार्यसमिति बैठकमा पुरक प्रस्तावको रूपमा वैदिक सनातन हिन्दूधर्मको पक्षमा यो प्रस्ताव पेश गरेका छौं ।’

यी हुन् सभापति देउवालाई हस्ताक्षर बुझाउने २२ केन्द्रीय सदस्य
शंकर भण्डारी
पुष्पा भुसाल,
नागिना यादव
प्रकाश रसाईली स्नेही
दिलेन्द्र बडू
सञ्जय गौतम
देवेन्द्रराज कँडेल
इन्द्रबहादुर बाँनिया
शुक्रराज शर्मा
गेहेन्द्र गिरी
सीता देवकोटा
सीताकुमारी राना
अर्जुनजंगबहादुर सिंह
सारदा पौडेल
चम्पादेवी खड्का
नृपबहादुर वड
भीम पराजुली
दिनेश कोइराला
मुक्ताकुमारी यादव
डिला संग्रौला पन्त
रंगमति शाही
विद्या तिमल्सिना

कांग्रेसपछि पछिल्लो समय हिन्दूराष्ट्रलाई एजेण्डा बनाउनुपर्ने दबाब बढ्दै गइरहेको छ । फागुन ७ देखि सुरू हुने महासमितिको बैठकमा पनि भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्रको एजेण्डा उठाउने तयारी छ। अघिल्लो महासमितिको बैठकमा पनि भण्डारीसहित महासमिति सदस्यहरुले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर अभियान नै चलाएका थिए ।

कांग्रेसमा पूर्व महामन्त्री शशांक कोइरालासहितका नेताहरु पनि हिन्दू राज्यका पक्षमा लचिलो देखिन्छ् । तर, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले भने हालसम्म हिन्दु राज्यको पक्षमा आफूलाई खुलाएका छैनन् ।

शंकर भण्डारीको संयोजकत्वको समन्वय समितिले भोलि हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा समेत गर्दैछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖