• Saturday 17th of October 2026

भरतपुर विमानस्थल विस्तारको प्रकृया तत्काल अघि बढाइने


  • धनकुटा खबर
  • .

चितवन। भरतपुर विमानस्थलको विस्तारको प्रकृया अघि बढेको छ। शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकले विमानस्थलको विस्तारको प्रकृया तत्काल बढाउने सहमति भएको हो।

विस्तारका लागि सर्वे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरुप ओएलएस (अप्सट्रेकल लिमिटेशन सर्वे) गरिने भरतपुर महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सन्तोष आर्चायले जानकारी दिए।

सर्वे आगामी सोमबारबाट सुरु गरी एक हप्ताभित्र सक्ने गरी काम थालिने छ। नगर प्रमुख, रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, नेपाल नागरिक प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसहित बसेको बैठकले विमानस्थल विस्तारको काम र घोडा प्रजन्नन केन्द्रको शक्तिखोरमा स्थान्तरण गर्ने कार्य एक साथ अगाडि बढ्ने बताइएको छ।

सर्वे रिपोर्ट आएपछि डिजाइनअनुसार बजेट सुनिश्चित गरेर विस्तारको काम अघि बढ्ने छ। यस्तै समग्र विमानस्थल विस्तार सहजीकरणको लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरपालिकाको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति भएको छ।

गत माघ १८ गते बसेको मन्त्रिपरिषद बैठकले सैनिक संरचना हटाएर भरतपुर विमानस्थल विस्तार गर्ने निर्णय गरेको थियो। संरचना सार्दा हुने खर्च नागरिक उड्डयन प्राधिकरणले ब्यहोर्ने छ।

विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन् केन्द्र लगायत संरचना छन्। ५८ बिघा क्षेत्रफलमा विमानस्थल विस्तारका लागि १९ बिघा जमिन आवश्यक पर्छ। अहिले १२ सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर–पश्चिमतर्फ ४१२ मिटर विस्तार गर्ने योजना छ। यसअनुसार विमानस्थलको धावनमार्ग कम्तीमा १५ सय मिटरको बनाउनु पर्नेछ।

विमानस्थल विस्तार हुँदा ठूला जहाजसमेत चल्ने गरी विमानस्थल विस्तार हुनेछ। यसको धावनमार्गको लम्बाई कम भएकाले ठूला जहाज उडान-अवतरण गर्न सक्दैनन्। विमानस्थल विस्तार भए अहिले रोकिएका धेरै सेवा जस्तै रात्रिकालिन उडान, ठुलो क्षमताको जहाज, धेरै वटा फ्लाईट, जहाजको फ्युल पम्प निर्माण हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖