• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बुढासुब्बाको बाँसमा मेटियो प्रेमजोडीको नाम !


  • धनकुटा खबर
  • .

सुनसरी- धरानको बुढासुब्बा मन्दिर र टुप्पोविनाको बाँसझ्याङ देशभर चर्चित छ । तर, अचेल बुढासुब्बाको बाँसझ्याङमा पसेर काँटी वा कडा वस्तुले खोपेर प्रेमजोडीको नाम लेख्न पाइँदैन ।

केही वर्ष अघिसम्म मन्दिर परिसरमा रहेको बाँसमा प्रेमिल जोडीले बुढा सुब्बालाई साक्षी राखेर आफ्नो नामको पहिलो अक्षरपछि प्लस चिन्ह राख्दै प्रेमीको पहिलो अक्षर लेखेर प्रेमलाई अप्रत्यक्षरुपमा सार्वजनिक गर्थे ।अचेल प्रेमी-प्रेमिकाले अर्कै चलन सुरु गरेका छन् ।
बुढासुब्बाकै आशा, भरोसा र विश्वासले कतिपय किशोरकिशोरी वा युवायुवतीले ‘वनसाइड क्रस’ भएपछि पनि ‘टुसाइड क्रस’ चाँडै होस् र चाहेको व्यक्तिसँग प्रेम होस् भनेर पनि बाँसमा लेख्ने गरेका थिए ।

यसरी थाहै नपाई बुढासुब्बालाई किशोर किशोरीहरुले ‘प्रेमको देवता’ मात्र बनाएनन्, मन्दिर परिसरलाई ‘लभ स्पट’ नै बनाए ।

दुई दशकअघिका ‘रोमियो–जुलियट’ हरुले भावुक भएर प्रेमका नाममा आफ्नो र प्रेमिकाको नाम बुढासुब्बाको बाँसमा लेखे पनि ती नामहरु यतिबेला विलुप्त भएका छन् । बरु बाँसवरिपरि धाँगो बाँधेको देख्न सकिन्छ ।

बाँसमा नाम लेखेका प्रेमीहरुको प्रेम सफल भयो कि असफल कसैलाई थाहा छैन । ‘वनसाइड क्रस’ हुनेले चाहेको प्रेमी पाए कि पाएनन् त्यो पनि कसैलाई थाहा छैन । तर, हजारौं प्रेमीहरुले बाँसमा नाम खोप्न थालेपछि बाँसमा क्षति पुगेको ठहर गर्दै मन्दिर व्यवस्थापन समितिले तारको घेराबारा गरेर नाम खोप्न मनाही गरिदिएको छ ।

तैपनि कतिपय ‘पागल प्रेमी’हरुले तारको घेराबारामा आफ्नो प्रेमी–प्रेमिकालाई सम्झेर सफल प्रेमजीवनको कामना गर्दै रंगीन धागो बाँध्ने चलन बसाएका छन् ।

तर, बुढासुब्बाको किंवदन्तीले भन्छ– बुढासुब्बा प्रेमका देवता होइनन् । उनी त सिद्धपुरुष थिए । घोडामा चढेर गुलेली र मट्याङ्ग्रा चलाएर सिकार गर्थे ।

किंवदन्ती अनुसार एकदिन बाँसको गुलेली जमीनमा गाडेर शिकार गर्न छाडेर हाल विजयपुरको बुढासुब्बा मन्दिर भएकै स्थानबाट उनी अल्पिए । मट्याङ्ग्रा सबै त्यहीँ कतै फाले ।

अहिले त्यही गुलेली नै बाँस झ्याङका रुपमा फैलिएको हो । गुलेलीबाट बाँस पलाएकाले अहिले पनि टुप्पो हुँदैन भन्ने विश्वास छ । विजयपुर क्षेत्रमा माटोका मट्याङ्ग्रा यदाकदा भेटिने गरेको छ । ती मट्याङ्ग्रा घोटेर औषधीका रुपमा प्रयोग गर्न सकिने अर्को विश्वास पनि छ ।

वनस्पतिशास्त्रले भने लामो समयसम्म रहेको बूढो बाँसझ्याङ प्राकृतिक कारणले नै टुप्पोविहीन हुन पुग्छ भन्छ । यद्यपि, आस्था र विश्वासमा तर्क र विज्ञान पनि निरीह हुन्छ ।

किंवदन्तीले सिद्धपुरुष भनेका बुढासुब्बा को थिए ? यसबारे इतिहासकारहरुमा मतेक्य देखिँदैन । मन्दिरमा पूजा गर्दै आएका मगर जातिका पुजारीको तर्क, स्थानीय बासिन्दाको भनाइ र इतिहासकारहरुको लेखाइमा आकास–पतालको फरक भेटिन्छ ।

पछिल्लो समयमा खोज अनुसन्धान गर्नेहरुले भने बुढासुब्बा कुनै याक्थुङ लिम्बु समुदायका मुखिया वा समाजका अगुवा व्यक्ति रहेको बताउने गरेका छन् ।

इतिहासकार अर्जुनबाबु माबुहाङका अनुसार विजयपुरका महाराजा कहलिएका कामदत्त सेनको हत्या गरेर बुद्धिकर्ण राय राजा बने । तर, उनलाई गोर्खाली सेनाले अंगे्रज र चीन सरकारसँग सहयोग मागेको आरोप लगाउँदै विसं १८३४ मा तीन दिनसम्म कठोर दण्ड सजाय दिएर हत्या गरियो ।

बुद्धिकर्णको हत्या गरेको स्थानमा सेहे (प्रेत) नजागोस् भनेर गोर्खाली सेनाले मगर पुजारी ल्याएर राखेको र पछि त्यही स्थान बुढासुब्बा मन्दिरका नाममा चिनिएको माबुहाङको भनाइ छ ।

माबुहाङ भन्छन्, ‘बुद्धिकर्ण रायको हत्या भएको २८ बर्षपछि ब्रिटिस उपनिवेशकालमा हेमिल्टन आएका थिए । उनले पनि यही कुरो लेखेका छन् । यसैलाई आधार बनाएर इतिहासकार इमानसिं चेम्जोङले ‘किरातकालीन विजयपुरको इतिहास’ पुस्तकमा हालको बुढासुब्बाको मन्दिर भएको स्थानलाई नै बुद्धिकर्ण रायको चिहान (समाधिस्थल) बताएका छन् ।’

विजयपुरका स्थानीय बासिन्दासमेत रहेका संस्कृतिविद् प्रा. सञ्जय कोइराला भने कहिलेदेखि बुढासुब्बा मन्दिरमा पूजा अर्चना सुरु भयो भन्ने विषयमा कुनै लिखत प्रमाण नरहेको बताउँछन् ।

कोइरालाका अनुसार स्थानीयले यस ठाउँलाई महाभारतकालीन कुनै किराती सिद्धपुरुषको समाधिस्थल मान्ने गरेका छन् । बुढासुब्बा मन्दिरसँगै अर्को पनि मन्दिर छ, त्यसलाई तिनै सिद्धपुरुषकी बहिनी मानेर पूजा गर्ने गरिएको छ ।

डा. कमल तिगेला भने हालको बुढासुब्बा मन्दिर रहेको माटोको ढिस्को खेवा लिम्बू बंशका अगुवाको चिहान भएको खेवा बंशावलीमा उल्लेख रहेको बताउँछन् ।

तर, तिगेलाको यो तर्कलाई मगर जातिका पुजारी आलेमगरहरुले भने स्वीकारेका छैनन् । १५ औं पुस्तादेखि आलेमगरहरुले बुढासुब्बामा पूजा गर्दै आएको उनीहरुको दाबी छ । पछिल्लो करिव सयबर्ष यता चन्द्रबहादुर, उनका बाजे सनमान, सनमानका बाबु विरुपमान, विरुपमानका बाबु मनरुप आलेमगरले पूजा गर्दै आएको मन्दिर व्यबस्थापन समितिका संयोजक उत्तम आलेले खबरहबलाई बताए ।

इतिहासकार ज्ञानमणि नेपालले भने नेपाल निरुत्त पुस्तकमा बुढासुब्बा कुनै अग्रज मगरको समाधिस्थल भएको उल्लेख गरेका छन् । पथिक कवि तथा खोजकर्ता लक्ष्मी आचार्यले पौराणिक व्यक्तित्व यलङहाङ (यलम्बर) वा एकलव्यको समाधिस्थल हुन सक्ने भनेर पिण्डेश्वर महाकाव्यमा उल्लेख गरेका छन् ।

पूर्वीय अध्यात्म धर्मदर्शनमा आधारित मठमन्दिरमा कुनै न कुनै देवीदेवता वा भगवानको मूर्ति सजिएको हुन्छ । तर, विजयपुरको बुढासुब्बा मन्दिरमा कुनै पनि देवता वा भगवानको मूर्ति छैन । माटोका तीनचुच्चे ढिस्का मात्र छन् । ती ढिस्कामा भक्तजनले जाँड, रक्सी, चुरोट, बिँडी र सुँगुर चढाउने गर्छन् ।

ती ढिस्कालाई भेटीका रुपमा जाँंड, रक्सी र सुर्ती चढाएर सर्वसाधारण भक्तजनले आफ्नो मनकामना पूरा गराउन वरदान माग्दै आएका छन् । कतिपयले सुंगुरको मार हान्छन् त कसैले भाले काट्छन् ।

बुढासुव्वा मन्दिरभित्रको दृश्यलाई नियाल्ने हो भने यसलाई विश्वकै अनौठो मन्दिरमध्येको एक मान्नुपर्ने हुन्छ । २०१८ सालअघिसम्म उक्त मन्दिर ढुङ्गाको गारोले बनेको सानो खरको झुपडीको अवस्थामा थियो । उसबेला चारआना, आठाना चन्दा उठाएर टिनको छानो हालेको स्थानीय बुढापाकाले बताउने गरेका छन् ।

मन्दिरमा भिड जम्न थालेको भने धेरै भएको छैन । धरानमा ब्रिटिस घोपा क्याम्प स्थापना भएपछि पूर्वका लिम्बू राईको आवासीय स्थलका रुपमा विकसित हुँदै मन्दिरमा पूजा गर्नेको भिड बिस्तारै बढेको हो । उक्त मन्दिरमा कुनै पनि जाति, धर्म वा समुदायलाई प्रवेश निषेध छैन । जोकोहीले पूजा अर्चना गर्न सक्छन् ।

मन्दिरमा चढाएको भालेको मुटु कलेजो हेरेर जोखाना हेर्ने चलन छ । मगर पुजारीले भालेको मुटु कलेजो हेरेर भविष्यको जोखाना हेर्ने गरेका छन् । जोखाना हेराउनकै लागि पनि भक्तजनले भाले चढाउने गरेका छन् ।

भारत, बंगलादेश, बर्मासमेतका मुलुकबाट बर्सेनि हजारौंको संख्यामा आफ्नो भाकल पूरा गर्न भक्तजनहरु बुढासुब्बा मन्दिरमा आउने गरेका छन् ।

उक्त मन्दिरलाई सरकारी स्तरबाट कुनै सुचीकरण वा संरक्षण छैन । कुनै गुठी पनि छैन । भक्तजनले चढाएको भेटी दान दातव्यबाट नै सञ्चालन हुँदै आएको छ ।

विषेशगरी शनिबार र मंगलबार हुने पूजा अर्चनामा जाँड, रक्सी, चुरोट, खैनी, भाले र सँगुर चढाउने चलन भए पनि नियमित कर्मकाण्ड भने सनातनी हिन्दु धर्मको पात्रो अनुसार चल्ने गरेको छ ।

याक्थुङ लिम्बुले आफ्नो मौलिक संस्कार र संस्कृतिअनुसार पूजाअर्चना गर्ने स्थलमा कुनै मानव आकृति भएको भगवान वा देवीदेवताको मूर्ति हुँदैन । यो तथ्यचाहिँ बुढासुब्बा मन्दिरमा कुनै स्थापित देविदेवता वा भगवानको मूर्ति नभएकाले ठ्याक्क मिलेको छ ।

तर, बुढासुब्बा ‘प्रेमका देवता’ भन्ने तथ्यचाहिँ कतै भेटिँदैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖