• Saturday 17th of October 2026

निर्माण सामग्रीको मूल्य: डण्डी घट्यो, सिमेन्ट बढ्यो


  • धनकुटा खबर
  • .

आर्थिक मन्दीका कारण पछिल्लो दुई वर्षयता विकास निर्माणका काम ठप्प छन्। विकास निर्माण सुस्ताउँदा निर्माण सामग्रीले पनि मूल्य पाउन सकेको छैन।

अधिकांश निर्माण सामग्रीको मूल्य स्थिर जस्तै छ। तर सिमेन्ट र डण्डीको मूल्य भने घटबढ भइरहन्छ।

पछिल्लो दुई सातामा डण्डीको मूल्य प्रतिकिलो ४ देखि ५ रूपैयाँले घटेको नेपाल निर्माण सामाग्री व्यापार संघ, काठमाडौंका सल्लाहकार अनसन साखःले जानकारी दिए।

उनका अनुसार दुई साताअघि डण्डी प्रतिकिलो ९७ देखि ९८ रूपैयाँमा कारोबार भइरहेको थियो। अहिले भने घटेर प्रतिकिलो ९३ देखि ९४ रूपैयाँमा कारोबार भइरहेको छ।

‘खासै माग छैन। त्यो भएर प्रतिकिलो ५० पैसा एक रूपैयाँ गरेर मूल्य घटाइरहेका छन्,’ उनले भने, ‘माग बढेन भने अझै घट्न पनि सक्छ।’
उनका अनुसार पञ्चकन्या डण्डीको मूल्य भने अन्य डण्डीको तुलनामा प्रतिकिलो १५ देखि २० रूपैयाँ बढी छ।

त्यस्तै, सिमेन्टको मूल्य भने बढेको छ। विद्युत आपूर्ति बन्द हुँदा सिमेन्टको मूल्य बढेको उनको भनाइ छ। अहिले अधिकांश उद्योगमा अघोषित रूपमा विद्युत आपूर्ति बन्द गरिएको छ।

‘डण्डीको मौज्दात धेरै छ त्यो भएर लोडसेडिङ हुँदा नि मूल्य घट्यो,’ उनले प्रस्ट्याए, ‘सिमेन्ट माग अनुसार उत्पादन गर्ने भएकाले बढाएको भन्ने छ।’

उनका अनुसार प्रतिबोरा १५ देखि ४५ रूपैयाँसम्म सिमेन्टको मूल्य बढेको छ। माघको अन्तिम सातादेखि उद्योगीले सिमेन्टको मूल्य बढाउन थालेका हुन्।

शिवम् सिमेन्टले १५/१५ रूपैयाँका दरले तीन पटक मूल्य बढाएर प्रतिबोरा ६ सय ७० रूपैयाँ पुर्‍याएको छ। त्यसअघि शिवम् सिमेन्टको मूल्य प्रतिबोरा ६ सय २५ रूपैयाँ थियो।

सौर्य र रिद्धिसिद्धि सिमेन्टले भने प्रतिबोरा २० रूपैयाँ र युनाइटेड, ह्वासिन र होङ्सी सिमेन्टले प्रतिबोरा १५ रूपैयाँ बढाएका छन्। यो ओपिसी सिमेन्टको मूल्य हो। पिपिसी सिमेन्ट भने ओपिसीको तुलनामा ९० देखि एक सय रूपैयाँ सस्तो हुन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖