• Saturday 17th of October 2026

कांग्रेस महासमिति बैठक: बन्दशत्रको हलबाहिर चलाइयो हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर अभियान


  • धनकुटा खबर
  • .

काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसको महासमिति बैठकस्थलमा हिन्दुराष्ट्रका लागि हस्ताक्षर अभियान चलाइएको छ । कांग्रेस नेता शंकर भण्डारीसहितका २२ जना नेताहरुले उक्त अभियान सुरु गरेका हुन् ।

हिन्दुराष्ट्रको पक्षमा हालसम्म शशांक कोईराला, पूर्व सभामुखसमेत रहेका तारानाथ रानाभाटलगायत ३१ जना केन्द्रीय सदस्य र ६ सय जनाभन्दा बढी महासमिति सदस्यहरुले हस्ताक्षर गरिसकेका छन् ।

बन्दशत्रको हलबाहिर हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर अभियान चलाइएको हो । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमै २२ जना नेताहरुले पार्टीलाई धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको पक्षमा उभ्याउन विशेष पुरक प्रस्ताव पेश गरेका थिए ।

केन्द्रीय सदस्य भण्डारीसहित दिलेन्द्र बडू, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, रंगमति शाही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, सीता कुमारी, सारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर बड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव, डा.डिला संग्रौला, इन्द्रबहादुर बानियाँ र शुक्रराज शर्माले पार्टी हिन्दुराष्ट्रको पक्षमा उभिनुपर्ने भन्दै हस्ताक्षरसहितको पत्र सभापति शेरबहादुर देउवालाई बुझाएका थिए ।

कांग्रेसमा यतिबेला हिन्दुराष्ट्रको मुद्दा व्यापकताको साथ उठिरहेको छ । पार्टी सभापति देउवाले एक सार्वजनिक कार्यक्रममै हिन्दुराष्ट्रबारे पुनर्विचार गर्न सकिन अभिव्यक्ति दिएपछि उक्त मुद्दालाई झनै मलजल पुगेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖