• Saturday 17th of October 2026

सार्वजनिक वनको काठ हिनामिना प्रकरण : राप्रपाका प्रदेश सांसद यादव र २ जना वनअधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


  • धनकुटा खबर
  • .

कपिलवस्तु । कपिलवस्तुस्थित एक सार्वजनिक वनको काठ हिनामिना प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीका एकजना प्रदेश सांसद पनि मुछिएका छन्।२०७९ सालको निर्वाचन कपिलवस्तु क्षेत्र नम्बर ३ (२) बाट लुम्बिनी प्रदेशसभामा निर्वाचित जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको हो।

गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिका तत्काली अध्यक्ष यादवविरुद्ध अख्तियारले २९ लाख १२ हजार १९३ रुपैयाँ ६५ पैसा बिगोसहित मुद्दा चलाएको हो। यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुरमा उक्त ऐनको दफा १७ ले निर्देश गरेबमोजिम ऐनको दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिमको कैदको सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना गरी पाउन र त्यही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर गरी पाउन मागदाबी लिइएको अख्तियारले जनाएको छ।

यो प्रकरणमा कपिलवस्तुका तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, दुर्गा बहादुर कार्की, महेन्द्रराज वाग्लेसहित १९ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा चलाएको हो। अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीहरूले कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिमा आर्थिक वर्ष०७४/०७५ मा ठेकेदारसमेतले ६ वटा प्लटको ३७ हजार क्यूबिक फिट काठ निकाल्ने ठेक्का स्वीकृत गराई कर्मचारीसँग मिलेमतो गरेर भ्रष्टाचार गरेका थिए।

त्यसक्रममा कटान गरिएका केही काठ लुकाई नजिकैको स-मिलमा बेचेर उनीहरूले २९ लाख १२ हजार १९३ रुपैयाँ ६५ पैसा अनियमितता गरेको आरोपसहित अख्तियारले मुद्दा चलाएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖