• Saturday 17th of October 2026

नक्खु कारागारमा पनि विपश्यना ध्यान केन्द्र, कैदीले १२ दिनसम्म ध्यान गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । कारागार कार्यालय नक्खुमा विपश्यना केन्द्र ‘धम्मासय’ सञ्चालनमा ल्याइएको छ । विपश्यना केन्द्रको उद्घाटन भएसँगै अब ४८ कैदीबन्दीका लागि १२ दिनसम्म ध्यान शिविर सञ्चालन गरिने छ ।

योसँगै नेपाल विपश्यना केन्द्रले देशभर १९ वटा ध्यान केन्द्र निर्माण गरेको छ । नक्खु कारागार ध्यान केन्द्र तीन महिनाको तयारीपछि सञ्चालनमा आएको हो ।

ध्यान केन्द्रको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनी र प्रशासनिक तवरबाट मात्रै नभएर आफ्नै महत्त्वबोध गराउने ध्यानबाट समेत सुशासन तथा सुधार अगाडि बढाउन सकिने बताए । आफूलाई फेर्ने, स्वजागृत हुने र समाज रूपान्तरण गर्ने चिन्तन ध्यानबाटै प्राप्त हुने उनको भनाइ छ ।

कार्यक्रममा विपश्यना ध्यान केन्द्रका क्षेत्रीय आचार्य डा. रूप ज्योतिले मन शुद्ध भएमात्रै शरीर स्वस्थ हुने र विपश्यनाले मनलाई शुद्ध बनाउने बताए । केन्द्रले १६ देशका कारागारहरूमा शिविर सञ्चालन गरिसकेको र उपप्रधानमन्त्री श्रेष्ठले ध्यानको महत्त्व बुझेकाले नक्खु कारागारमा समेत केन्द्र र शिविर सञ्चालन हुन सकेको बताए।

गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुवँर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, कारागार व्यवस्था विभागका महानिर्देशक काशिराज दाहाल, सशस्त्र प्रहरीका एआईजी नारायणदत्त पौडेल, विपश्यना ध्यान केन्द्रका आचार्यहरू तथा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖